शिवमको आईपीओ लगानीकर्ताका लागि कति सुरक्षित ?

चालू आर्थिक वर्षको बजेटले १ अर्ब रुपैयाँभन्दा बढीका ठूला कम्पनीहरु सेयर बजारमा आउनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने उल्लेख गरेको छ । शिवमजस्ता कम्पनीको सेयर बजारमा देखिने आकर्षणले आगामी दिनमा नयाँ कम्पनी आउन थप सहज÷असहज हुनेछ ।

विगतमा सेयर निष्कासन गरेका अधिकांश उत्पादनमूलक कम्पनीको कारोबार यतिबेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हुँदैन । र कतिपय कम्पनी बन्द पनि भइसकेका छन् भने सञ्चालनमा भएका पनि अत्यन्तै खराब अवस्थामा छन् । न त ती कम्पनीहरुले सर्वसाधारण लगानीकर्ताका लागि जानकारी दिन आफ्नो वासलात नै सार्वजनिक गर्छन् ।

हो, यस्तै बेलामा निकै चमकधमकका साथ एउटा नयाँ उत्पादनमूलक कम्पनी (शिवम् सिमेन्ट)ले सर्वसाधारणलाई सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उत्पादक कम्पनी शिवम सिमेन्टले स्थानीयका लागि चुक्ता पुँजीको २ प्रतिशत अर्थात् ८ लाख ८० हजार कित्ता सेयर पहिलो चरणमा थप २ सय रुपैयाँ प्रिमियम लिएर प्रतिकित्ता ३ सय रुपैयाँका दरले साउन १३ देखि भदौ ११ सम्म बिक्री गर्ने योजना अघि सारेको छ । स्थानीयलाई सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि १० प्रतिशत अर्थात् ४४ लाख कित्ता सेयर थप ३ सय प्रिमियमा लिएर प्रतिकित्ता ४ सय रुपैयाँमा बिक्री गर्ने कार्यक्रम छ ।

उत्पादनमूलक कम्पनीको विगतलाई हेर्दा सेयर लगानीकर्तालाई अधिकतम घाटा देखिन्छ । विगतमा सार्वजनिक निष्कासनमा आएका दर्जनांै उत्पादनमूलक कम्पनीको नाम मात्र यतिबेला नेप्सेमा छ । नेप्सेमा सूचीकृत भएका केही उत्पादनमूलक कम्पनी हाल अस्तित्वमै नरहेको समेत नेप्सेले जनाएको छ । अस्तित्वमा भएका कम्पनीको पनि हाल कारोबार ठप्पप्रायः छ । यसलाई हेर्दा लाखौं लगानीकर्ताको करोडौं रुपैयाँ लगानी यसअघि नै फसिसकेको छ ।

खासगरी उत्पादनमूलक कम्पनीका लागि नियमनकारी निकाय नहुने र कम्पनीले आफूखुसी गर्न खोज्दा सर्वसाधारणको लगानी जोखिममा परेको हो । यद्यपि एकाध कम्पनी भने दोस्रो बजारमा चम्किएका पनि छन् । बैङ्क तथा वित्तीय संस्था, टेलिकम, बिमा कम्पनीका हकमा अन्य नियामक निकाय क्रियाशील भए पनि उत्पादनमूलक, जलविद्युत् र व्यापारका क्षेत्रमा नियामक निकाय नहुँदा निकै नै समस्या हुने गरेको छ । यद्यपि बलिया नियामक निकाय भएको वित्तीय क्षेत्रमा पनि लगानीकर्ताले नगुमाएका भने होइनन् । तर, उत्पादनमूलक क्षेत्रमा लगानीकर्ताले बढी मूल्य चुकाइरहेको यथार्थता लुकाएर लुकाउन सकिँदैन ।

बुटवल स्पिनिङ मिल्स, विराट सु, हरिसिद्धि ब्रिक्स एन्ड टायल्स, ज्योति स्पिनिङ मिल्स, अरुण वनस्पति उद्योग, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, श्री भृकुटी पल्प एन्ड पेपर, गोरखकाली रबर उद्योग, नेपाल खाद्य उद्योग, नेपाल ल्युब आयल, नेपाल वनस्पति घिउ उद्योग र रघुपति जुट मिल्सजस्ता उत्पादनमूलक कम्पनी हाल कारोबारमै छैनन् । ज्योति स्पिनिङ त कम्पनी नै खारेजीको चरणमा छ ।

यी कम्पनीहरुले नेप्सेमा केही समययता नवीकरण शुल्कसमेत बुझाएका छैनन् । नवीकरण शुल्क नबुझाउँदै नेप्सेले कारोबार गर्न दिँदैन । कम्पनीले नवीकरण शुल्क नबुझाउने अनि त्यसको मारमा सर्वसाधारण लगानीकर्ता पर्ने अवस्था आएको छ । जसले गर्दा लगानीकर्ताको करोडौं रुपैयाँ फसेको छ ।

तर, युनिलिभर नेपाल, बोटलर्स नेपाल जस्ता केही उत्पादनमूलक कम्पनीको सेयर भने अहिले पनि उच्च मूल्यमा खरिदबिक्री भइरहेका छन् । यस आधारमा सबै कम्पनीलाई एउटै डालोमा हाल्नु वाञ्छनीय त हुँदैन । तर, अधिक कम्पनीहरुमा लगानीकर्ता फसिसकेकाले नयाँ आउने कम्पनीमा लगानीकर्तालाई विश्वासको खडेरी लाग्न सक्छ, जसले गर्दा लगानीकर्ता आकर्षण घट्न गयो भने उत्पादनमूलक कम्पनीलाई बजारमा ल्याउने सरकारी प्रयाससमेत असफल हुन सक्छ । चालू आर्थिक वर्षको बजेटले १ अर्ब रुपैयाँभन्दा बढीका ठूला कम्पनीहरु सेयर बजारमा आउनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने उल्लेख गरेको छ । शिवमजस्ता कम्पनीको सेयर बजारमा देखिने आकर्षणले आगामी दिनमा नयाँ कम्पनी आउन थप सहज/असहज हुनेछ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारमा रहेका सूचीकृत कम्पनीभन्दा फरक क्षेत्रको कम्पनी भएकाले शिवमको आईपीओमा लगानीकर्ता आकर्षित हुने बताए । विगत तीन वर्षयता कम्पनीको उत्पादन क्षमताका आधारमा शिवम सिमेन्ट राम्रो स्थितिमा रहेको बताउँदै उनले लगानीकर्ताको छनोटमा पर्न सक्ने भए पनि निष्कासन हुने समयसम्ममा बजारको अवस्थाले सेयर बिक्री हुने/नहुने तय हुने बताए ।
शिवम सिमेन्टको हकमा बोर्डको काम लगानीको वातावरण बनाउने भएकाले लगानीको ग्यारेन्टी गर्ने काम बोर्डको नभएको नेपाल धितोपत्र बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेको भनाइ छ । बजारको आवश्यकता र अवस्था हेरेर नयाँ कम्पनीका रुपमा शिवमलाई सेयर निष्कासनको अनुमति दिएको उनले बताए ।

बोर्डले निश्चित घेरा, नियमकानुनभित्र बसेर कम्पनीलाई सेयर निष्कासनको अनुमति दिने भएकाले सेयर मूल्य तलमाथि हुन सक्ने बताउँदै लगानी गर्ने वा नगर्ने लगानीकर्ताको छनोटमा भर पर्ने जानकारी दिए । उनका अनुसार प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न पाउने कानुनी आधारमा रहेर वास्तविक क्षेत्रका कम्पनीलाई बोर्डले बजारमा भित्र्याएको हो ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल अन्य उत्पादनमूलक कम्पनीभन्दा शिवम सिमेन्ट फरक भएकाले लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने सम्भावना कम रहेका बताउँछन् । उनले नेपाल बैङ्कभन्दा पनि कमजोर स्थितिमा रहेको शिवमको सेयर मूल्य बढेर तय भएका कारण लगानीकर्तालाई मारमा पर्न सक्ने बताए । नेपाल बैङ्कको एफपीओ प्रतिकित्ता दुई सय ८० रुपैयाँ हुँदा शिवमको मूल्य प्रतिकित्ता ३ सय र ४ सय हुनु अस्वाभाविक भएको अग्रवालको भनाइ छ । एफपीओ र प्रिमियमसहितको प्राथमिक निस्कासनमा मूल्य तय गर्ने प्रक्रियालाई उनले बोर्ड लगानीकर्ताप्रति अनुदार बनेको आरोप लगाए ।