ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा धब्बा लाग्न नहुने भन्दै व्यवसायीहरुलाई गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले नेपालको पर्यटन क्षेत्रमा भएको विकृति र विसङ्गति हटाउन जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको बताएका छन् ।
ट्रेकिङ व्यवसायीहरुलाई भेला पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले फेक रेस्क्युमा संलग्न व्यवसायीलाई कारबाही गरेरै छाड्ने बताएका छन् । ‘गलत गर्ने व्यवसायीले चिन्ता लिनुस्,’ मन्त्री अधिकारीले भने, ‘गलत नगर्नेहरु ढुक्कका साथ आफ्नो काम अगाडि बढाउनुुुस् ।’
ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा धब्बा लाग्न नहुने भन्दै व्यवसायीहरुलाई गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले नेपालको पर्यटन क्षेत्रमा भएको विकृति र विसङ्गति हटाउन जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको बताएका छन् । आगामी सेप्टेम्बर महिनाभित्र रिपोर्ट सार्वजनिक भइसक्ने बताउँदै सबै व्यवसायीलाई गलत नगर्न सुझाव दिएका छन् ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आफूलाई मार्ने धम्की नै आएपनि छानबिनको काम नरोकिने बताए । ‘छानबिन समितिमा बसेकाहरु सबै करियर भएकाहरु छन्,’ सचिव देवकोटाले भने, ‘उहाँहरुले पनि भविष्य सोचेर अनुसन्धान गर्नुहुनेछ भन्ने मैलै विश्वास लिएको छु ।’ फेक रेस्क्युको काम टाठा बाठाले मात्र गर्न सक्ने बताउँदै १८ सय ट्रेकिङ व्यवसायमध्ये १९–२० जनाले मात्र यस्तो काम गरेको हुन सक्ने आफ्नो अनुमान रहेको बताए ।
पछिल्लो समय हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकलाई बिरामी बनाएर उद्धार गरी ठगिरहेको समाचार सार्वजनिक भएपछि मन्त्री अधिकारीकै पहलमा छानबिन समिति गठन भएको छ ।
असार १५ गतेभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने गरी पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानबिन समिति बनाए पनि अनुसन्धान नसकिएको भन्दै पुनः २ महिनाका लागि म्याद थप भएको छ । छानबिन समितिले विभिन्न हेलिकप्टर कम्पनी, ट्रेकिङ एन्ड ट्राभल कम्पनी तथा अस्पताललाई पत्र पठाएर विवरण सङ्कलन गरिरहेको छ ।
पर्यटन व्यवसायी पम्फा धमलाले विदेशी पर्यटकलाई सस्तो प्याकेज दिएर सम्बन्धित ठाउँसम्म नपु¥याई बिरामी बनाएर हेलिकप्टरमा उद्धार गर्ने गरेको सत्य भएको बताइन् । उनले केही पर्यटन व्यवसायीहरुको कारण आफूहरु पनि समस्यामा परेको बताउँदै तत्कालै कारबाही गरेर विश्वबजारमा सकारात्मक सन्देश फैलाउन आवश्यक रहेको बताइन् ।
यस्तै टानका अध्यक्ष नवराज दाहालले सरकारले कारबाहीभन्दा प्रचार बढी गरेको आरोप लगाएका छन् । ‘चिठी काटेका सबैलाई कारबाही गर्ने भए पनि छिटो गर्नुप¥यो,’ अध्यक्ष दाहालले भने, ‘हैन भने हल्ला मात्र गरेर दुख दिने काम बन्द गर्नुपर्यो ।’
मन्त्रालयले पठाएको पत्रमा टानका पदाधिकारीहरुको कम्पनी पनि समावेश भएको छ । आफ्ना पदाधिकारीहरुको कम्पनी समावेश भएको समाचार सार्वजनिक भएपछि टानले २ ओटा प्रेस विज्ञप्ति सार्वजनिक गरिसकको छ ।
यसैबीच शेर्पा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष संगम शेर्पाले छानबिनमा परेका व्यवसायीहरु टानको कार्य समितिमा बस्न नहुने बताए । उनले सत्यतथ्य रिपोर्ट सार्वजनिक गर्न सरकारले खुट्टा नकमाउन सरकारसँग आग्रह गरे ।