अनलाइन कारोबार परीक्षणमा ५० ओटै ब्रोकर कम्पनी आबद्ध

नेप्सेले नेपालका ५० ओटै ब्रोकर कम्पनीले अनलाइन कारोबारका लागि आवश्यक पूर्वाधार तयार गरेको बताएको छ । सबै ब्रोकर अनलाइन कारोबारमा आबद्ध भएपछि हालका लागि परीक्षण कारोबार सुरु भएको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले यही साउन १ गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा आज सोमबारदेखि ५० ओटै ब्रोकर कम्पनी आबद्ध भएका छन् । नेप्सेले नेपालका ५० ओटै ब्रोकर कम्पनीले अनलाइन कारोबारका लागि आवश्यक पूर्वाधार तयार गरेको बताएको छ । सबै ब्रोकर अनलाइन कारोबारमा आबद्ध भएपछि हालका लागि परीक्षण कारोबार सुरु भएको हो ।

नेप्सेले आफ्नो वेबसाइटमार्फत् पूर्वाधार जडानको काम सकिएको र सबै ब्रोकर कम्पनी यसमा आबद्ध भएकाले कारोबारका लागि लगानीकर्तालाई युजर आईडी र पासवर्ड वितरण गर्न सबै कम्पनीलाई निर्देशन दिएको छ । अब लगानीकर्ताले आफूले कारोबार गरिरहेको ब्रोकरसँग समन्वय गरेर ग्राहक पहिचान विवरण (केवाईसी) खोलेर युजर आईडी र पासवर्ड लिन सक्ने छन् । तर केवाईसी फर्म भर्दा ईमेल आईडी र मोबाइल नम्बर अनिवार्य चाहिन्छ ।

सबै ब्रोकर कम्पनी अनलाइन कारोबारमा आबद्ध भइसकेकाले नेप्सेले लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन आह्वान गरेको छ । लगानीकर्ताले युजर नेम र पासवर्ड लिएपनि आफै सेयरको अर्डर गर्न भने युजर एसेप्टेन्स टेष्ट (यूएटी)पछि मात्र पाउने छन् ।

तर, अनलाइन कारोबार सुरु भएपछि लगानीकर्तालाई ब्रोकरले दिएको आदेश र आफ्नो आदेश म्याचिङ भएको छ वा छैन भनी हेर्न पाउने नेप्सेले जानकारी दिएको छ ।