ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का प्रतिनिधिहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमक्ष दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा पदयात्राका लागि जाने पर्यटकहरुलाई अनिवार्य रुपमा गाइड लानुपर्ने व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।
पछिल्लो समय गाइडबिनै पदयात्रामा जानेहरुको सङ्ख्यामा वृद्धि भएको भन्दै पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । गाइडबिनै पदयात्रामा जाँदा जोखिम बढ्ने र आफूहरुको पेसा पनि सङ्कटमा पर्ने भन्दै त्यसप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का प्रतिनिधिहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमक्ष दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा पदयात्राका लागि जाने पर्यटकहरुलाई अनिवार्य रुपमा गाइड लानुपर्ने व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।
आफूहरुले कानुनीरुपमा कम्पनी दर्ता गरेर सरकारलाई कर तिरिरहेको बताउँदै केही गैरसरकारी संस्थाहरुले पनि ट्रेकिङ एन्ड ट्राभलको काम गरिरहेको पाइएकाले त्यस्ता कार्य तत्काल रोक्न मन्त्रालयको ध्यान जान आवश्यक रहेको टानका अध्यक्ष नवराज दाहालको भनाइ छ ।
टानका महासचिव आङपेम्बा शेर्पाले पछिल्लो समय रजिष्टर्ड नभएका गाइडहरुले पर्यटकलाई पदयात्रामा लैजाने गरेको भन्दै त्यस्ता गैरकानुनी रुपमा काम गर्ने व्यवसायीलाई कारबाही गर्न माग गरेका छन् । गाइड नलगी आफुखुसी पदमार्गमा जाँदा धेरै पर्यटकहरु अलपत्र परेको, हराएको र समस्या परेको घटना बारम्बार आइरहेकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको महासचिव शेर्पाको भनाइ छ । उनले केही संस्थाका कारण एक हजार आठ सय पर्यटन व्यवसायीहरुको बदनाम हुन लागेकाले बेलैमा सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् ।
टानकी पूर्व अध्यक्ष याङकिला शेर्पाले दर्ता बिनाका अपरेटरहरुलाई पदमार्गमा पठाउन नहुने बताइन् । सरकारी मापदण्डमा नआउने अपरेटरहरुका कारण पर्यटन क्षेत्रमा विकृति र विसङ्गति सुरु भएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको शेर्पाको भनाइ छ ।
यसैबीच पर्यटनमन्त्री रवीन्द्र अधिकारीले तीन हजार मिटरभन्दा माथिको उचाइमा जाने पर्यटकले अनिवार्य रुपमा गाइड लिएर जाने व्यवस्था गर्न आफु तयार रहेको बताएका छन् । ‘मन्त्रालयमा छलफल गरी छिट्टै निर्णय गराउँछु’, मन्त्री अधिकारीले भने, ‘गैरकानुनी काम गर्ने कसैले छुट पाउँदैनन् ।’