आइतबार एक हजार एक सय ८१ दशमलव ६६ अङ्कमा बन्द भएको बजार १२ दशमलव ८४ अङ्कले बढेर एक हजार एक सय ९४ दशमलव ५० अङ्क कायम भई कारोबार बन्द भएको छ ।
साउन महिनाको पहिलो सोमबार सेयर बजारमा एकाएक चमक देखिएको छ । केही दिनदेखि घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार भने १२ दशमलव ८४ अङ्कले बढेर हरियाली छाएको हो । आइतबार एक हजार एक सय ८१ दशमलव ६६ अङ्कमा बन्द भएको बजार १२ दशमलव ८४ अङ्कले बढेर एक हजार एक सय ९४ दशमलव ५० अङ्क कायम भई कारोबार बन्द भएको छ ।
सोमबार कारोबार सुरु भएदेखि बढ्न थालेको बजार धेरै बेर टिक्न सकेन । र बजार दुई अङ्कले घट्न पुग्यो । तर सोमबार बजारले घट्ने बाटो धेरै बेर पछ्याएन । एकाएक बजारमा चमक देखियो र दोहोरो अङ्कले बढ्यो । खासगरी नेप्सेले सार्वजनिक अनलाइनका लागि युजर नेम र पासवर्डका लागि सूचना निकालेपछि लगानीकर्ता उत्साहित देखिए । यसअघि अनलाइन कारोबार परीक्षण भने पनि लगानीकर्ताले खासै चासो देखाएका थिएनन् । नेप्से एकाएक दोहोरो अङ्कले बढेपनि कारोबार भने १८ करोड रुपैयाँको मात्र भएको छ ।
सोमबार नेप्सेमा एक सय ५७ कम्पनीको दुई हजार आठ सय ३९ कारोबारबाट छ लाख ५८ हजार दुई सय ९२ कित्ता सेयर खरिदबिक्री भई १८ करोड ६५ लाख २६ हजार पाँच सय ३५ रुपैयाँ कारोबार भएको छ, जुन आइतबारको तुलनामा तीन करोड रुपैयाँले कम हो ।
११ अङ्कले गिरावट आएको दिन आइतबार नेप्सेमा एक सय ६३ कम्पनीका तीन हजार आठ सय २२ कारोबारबाट छ लाख ६१ हजार दुई सय ४६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
व्यापार समूहको कारोबार नभएको दिन आज नेप्सेमा कुनै पनि समूहमा गिरावट आएको छैन भने होटलको कारोबार स्थिर छ । होटलमा आज कुनै पनि उतारचढाव आएको छैन । बजार बढेको दिन आज नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमामा एक सय ३३ दशमलव ५१, जीवन बिमामा ५४ दशमलव ८६, माइक्रोफाइनान्समा ३५ दशमलव ४५, जलविद्युतमा १९ दशमलव एक, विकास बैङ्कमा १५ दशमलव ८८, उत्पादनमूलकमा १० दशमलव ९१ अङ्कले वृद्धि भएको छ ।
यस्तै बैङ्किङमा ८ दशमलव ६ अङ्कले वृद्धि भएको छ भने अरु समूहमा एकल अङ्कले सुधार आएको छ । बजार दोहोरो अङ्कले बढ्दा आज नेप्सेमा नयाँ नेपाल लघुवित्त विकास बैङ्कको सेयर १० प्रतिशतले बढेको छ भने तिनाउ डेभलपमेन्ट विकास बैङ्कको सेयर ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।