सूचीकृत कम्पनी भने नेप्सेको प्रश्नलाई बेवास्ता गरी वर्षौंदेखि कारोबार नगरी बसिरहेका छन् । यस्तो स्थितिमा नेप्से नाजवाफ छ । न त नेप्सेले त्यस्तो कम्पनीलाई कारोबारमा ल्याउन सक्छ न सूचीकरणबाट हटाउन नै । यसबाट लगानीकर्ताको करोडौं रुपैयाँ डुबेको छ ।
लामो सयमदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सूचीकृत केही कम्पनीलाई कारोबार नगर्नुको कारण सोधिरहन्छ । तर, सूचीकृत कम्पनी भने नेप्सेको प्रश्नलाई बेवास्ता गरी वर्षौंदेखि कारोबार नगरी बसिरहेका छन् । यस्तो स्थितिमा नेप्से नाजवाफ छ । न त नेप्सेले त्यस्तो कम्पनीलाई कारोबारमा ल्याउन सक्छ न सूचीकरणबाट हटाउन नै । यसबाट लगानीकर्ताको करोडौं रुपैयाँ डुबेको छ ।
हाल नेप्सेमा सूचीकृत भएका तर वर्षौंदेखि कारोबार नगरेका २९ कम्पनी छन् । कारोबार नगर्ने ती कम्पनीलाई नेप्सेले पटक पटक पत्रमार्फत् कारोबार नगर्नुको कारण सोधिरहेको हुन्छ । कहिले २१ दिनको त कहिले १५ दिनको समय, कम्पनीअनुसार फरक फरक समय दिएर सम्पर्कमा आउन नेप्सेले पत्राचार गरेपनि कुनै कम्पनी सम्पर्कमा आउने गरेको पाईंदैन ।
कारोबार नगर्नेमध्ये अधिकांश कम्पनी सरकारी स्वामित्व र उत्पादनमूलक समूहका छन् । तर, केही वित्तीय संस्था एकापसमा गाभिने प्रक्रियामा रहेका कारण र केहीलाई नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेका कारण नेप्सेको सम्पर्कमा नआएका हुन् ।
नेप्सेका अनुसार सूचीकृत भएर सम्पर्कमा रहेका ११ कम्पनीमध्ये दुई उत्पादनमूलक कम्पनीले एक वर्षदेखि नवीकरण शुल्क तिरेका छैनन् । यस्तै, ४ उत्पादनमूलक १० वर्षदेखि नवीकरण शुल्क बुझाएका छैनन् । बाँकी कम्पनीले विगतमा नवीकरण शुल्क बुझाए पनि यस वर्ष बुझाएका छैनन् ।
नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, नेपाल खाद्य उद्योग, नेपाल ल्युब आयल लिमिटेड, नेपाल वनस्पति घ्यू उद्योग र रघुपति जुट मिल्सले आफ्नो सेयर अभौतिकीकरण नगराई बसेका छन् । सेयर कारोबारमा खासै रुची नभएका यी कम्पनीले अभौतिकीकरण (डिमेटेरियलाइज) नगरेका हुन् । अहिले सेयर अभौतिकीकरण नगरेका कम्पनीको नेप्सेमा कारोबार हुँदैन अर्थात् भौतिक सेयरको कारोबार हुँदैन । बिराट शुज लिमिटेड, फ्लोर हिमालयन लिमिटेड, नेपाल ट्रे्डिङ् लिमिटेड र नेपाल वेलफेयर कम्पनी लिमिटेडले विगत १० वर्षदेखि नेप्सेमा नवीकरण गराएका छैनन् । याक एन्ड यती होटल र बुटवल स्पिनिङ मिल्स लिमिटेडले पनि केही समयदेखि नवीकरण गरेका छैनन् ।
त्यसैगरी हरिसिद्धि ब्रिक्स एन्ड टायल्स लिमिटेड सम्पर्कमै आएको छैन भने ज्योति स्पिनिङ् मिल्स खारेजी प्रक्रियामा रहेकाले लिक्विडेटरमार्फत काम भइरहेको छ । यस्तै, अरुण वनस्पति उद्योग लिमिटेडले वार्षिक शुल्क बुझाएको छैन । नेपाल सेयर मार्केट एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स, नेपाल फाइनान्स र हिमालयन फाइनान्सलाई नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेकाले नेप्सेमा सूचीकृत भएपनि कारोबारमा संलग्न छैनन् । समस्याग्रस्त यी कम्पनीमध्ये कतिपयले नेप्सेमा नवीकरण शुल्कसमेत बुझाएका छैनन् ।
सम्झना फाइनान्स खारेजी प्रक्रियामा सामेल भइसकेको छ । नेपाल विटुमिन एन्ड ब्यारेल उद्योग र भृकुटी पल्प एन्ड पेपर उद्योगले पनि नेप्सेमा नवीकरण शुल्क नबुझाएका कारण कारोबारमा आएका छैनन् । त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैङ्क, सहारा विकास बैङ्क तथा सिनर्जी फाइनान्स मर्जर प्रक्रियामा गएका छन् भने एनआईडीसी डेभलपमेन्ट बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कमा र नारायणी फाइनान्स नेशनल फाइनान्समा गाभिएकोमा नारायणी नेशनल फाइनान्स पनि सनराइज बैङ्कमा गाभिइसकेका छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कारोबार रोकिएका केही कम्पनीहरु कारोबारमा फर्किंदै रोकिँदै गर्ने भएकाले सूचीकरण खारेजी गर्न नसकिएको बताए । ‘प्रक्रिया केही झन्झटिलो भए पनि नेप्सेले लामो समयदेखि कारोबार बन्द भएका र नवीकरण नभएका कम्पनीको सूचीकरण खारेज गर्दै आएको छ,’ उनले भने, ‘नेप्सेले यसअघि पनि पटक पटक गरी ५२ ओटा कम्पनीको सूचीकरण खारेज गरिसकिएको छ ।’ तर, कारोबारमा नआएका कम्पनीको तत्कालै सूचीकरण खारेज गर्दा लगानीकर्ताको लगानी डुब्ने डर हुने पराजुलीले बताए । हरेक वर्ष कारोबार नगरेका कम्पनीलाई कारोबार नगर्नुको कारण सोधिने गरेपनि ती कम्पनीहरुले चासो नदिने गरेको पराजुलीको भनाइ छ ।