सेप्टेम्बर १ बाट डोमेस्टिक उडान बिहान ६ बजेदेखि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सेप्टेम्बरबाट माउन्टेन फ्लाइटमा जाने पर्यटकहरुको सङख्यामा वृद्धि हुने र धेरै उडान गर्न एयर ट्राफिक जाम हुने भएकाले त्यसलाई केही मात्रामा कम गर्न आन्तरिक उडानको समय सार्न थालिएको बताएका छन् ।

आउँदो सेप्टेम्बर १ बाट डोमेस्टिक उडान बिहान ६ बजेदेखि हुने भएको छ । माउन्टेन फ्लाइट र लुक्ला जाने जहाजलाई लक्ष्य गरी बिहानै उडान सुरु गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सेप्टेम्बरबाट माउन्टेन फ्लाइटमा जाने पर्यटकहरुको सङख्यामा वृद्धि हुने र धेरै उडान गर्न एयर ट्राफिक जाम हुने भएकाले त्यसलाई केही मात्रामा कम गर्न आन्तरिक उडानको समय सार्न थालिएको बताएका छन् । ‘अहिले बिहान ७ देखि ७.४५ बजेभित्र पहिलो उडान हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘अब बिहान ६ बजे पहिलो उडान भइसक्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अहिले ६ बजे खुल्ने गरेका डोमेस्टिक एयरका कार्यालय सेप्टेम्बर १ बाट बिहान ५ बजेभित्र खुलिसक्ने बताए । ‘डोमेस्टिक एयरलाइन्स, जहाज कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायत सम्बन्धित निकायसँग छलफल भई बिहान ५ बजेदेखि नै डोमेस्टिक एयरलाइन्स काउन्टर खुलाउने निर्णय भएको छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘बिहान ५.४५ मा टावर सञ्चालन हुन्छ ।’

यसबाट ३० देखि ४५ मिनेट समय बच्ने भएकाले उडान समय लम्बिने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । डोमेस्टिक उडान ६ बजे गर्नका लागि एयरपोर्टका कर्मचारीहरु ५ बजे आउने, प्यासेन्जरहरु ५.१५ देखि आइपुग्ने र ५.४५ मा टावर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै पर्यटन मन्त्रालयले एयरपोर्ट सञ्चालनलाई विषेश जोड दिँदै आएको छ । यसअघि १८ घण्टा सञ्चालन हुँदै आएको एयरपोर्टलाई २१ घण्टा सञ्चालन हुँदै आएको छ । मन्त्री अधिकारीले २०२० मा अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा खुल्ला गर्ने बताएका छन् ।