नेपाल बैङ्कको एफपीओमा २ अर्ब ७० करोडको आवेदन

नेपाल बैङ्कको सन्दर्भमा यस्तो परिस्थिति निर्माण हुन नसकेको बताइन्छ । सरकार आँफै लगानीकर्ता रहेको बैङ्कको सेयर बिक्री नहुनुलाई एकथरीले सरकारप्रतिको अविश्वास भनेका छन् ।

नेपाल बैङ्कको थप सार्वजनिक निष्कासन (एफपीओ)मा २ अर्ब ७० करोड रुपैयाँबराबरको आवेदन परेको छ । एक महिना लामो बिक्री अवधि सकिँदा पनि नेपालको एफपीओ पूरै बिक्री हुन सकेन ।

कम्पनीले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रतिकित्ता १ सय ८० रुपैयाँ प्रिमियम थप गरी २ सय ८० रुपैयाँका दरमा बिक्री खुला गरेको थियो । तर, अन्तिम दिनसम्म आइपुग्दा ९६ लाख ४२ हजार कित्ता मात्रै बिक्री भएको हो । आइतबार अन्तिम दिन कर्मचारी सञ्चयकोषले एक अर्ब रुपैयाँबराबरको सेयर खरिद गर्नेगरी आवेदन गरेपनि बैङ्कको सबै एफपीओ बिक्री हुन सकेन ।

शुक्रबारसम्म १७ हजार ५ सय ३९ कित्ता सेयरका लागि ६८ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेको थियो । झन्डै दोब्बर रकमको सेयर माग आइतबार भएको हो ।

सिद्धार्थ क्यापिटका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाका अनुसार तत्काल प्राप्त तथ्याङ्कअनुसार सबै सेयर बिक्री नभए पनि अद्यावधिक विवरण आउने क्रममा रहेको बताए । ‘सीआश्बा प्रणालीमार्फत भरिएको सेयरको सबै विवरण आइसकेको छैन,’ उनले भने, ‘त्यसैले यो नै अन्तिम विवरण होइन ।’ उनले नबिकेको सेयर खरिद गर्न यसअघि नै मर्चेन्ट बैङ्कहरुले प्रत्याभूति गरेको बताए ।

यसअघि नै सीबीआईएल क्यापिटलले एक अर्ब १५ करोड ३८ लाख, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबीएलएस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोड, लक्ष्मी क्यापिटलले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैङ्किङले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपीओ प्रत्याभूति गरेका थिए । नबिकेको सेयर सम्बन्धित मर्चेन्ट बैङ्करले समानुपातिक रुपमा वा आपसी सहमतिमा खरिद गर्नेछन् ।

यसअघि एनएमबी बैङ्कले सर्वसाधारणबाट सबै सेयर नबिकेपछि संस्थागत र संस्थापक लगानीकर्तालाई विश्वासमा लिएर सबै सेयर अन्तिम दिन बिक्री गराएको थियो । तर, नेपाल बैङ्कको सन्दर्भमा यस्तो परिस्थिति निर्माण हुन नसकेको बताइन्छ । सरकार आँफै लगानीकर्ता रहेको बैङ्कको सेयर बिक्री नहुनुलाई एकथरीले सरकारप्रतिको अविश्वास भनेका छन् ।

निरन्तर सेयर बजार ओरालो लागेका बेला आएको एफपीओले बजारमा प्रभाव जमाउन सकेन । दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज–नेप्से) मा भएको कारोबार मूल्य र एफपीओ मूल्य एउटै भएपछि लगानीकर्ताले एफपीओमा रुची देखाएका थिएनन् । नेप्सेमा आइतबार प्रतिकित्ता २ सय ८९ रुपैयाँमा कारोबार भएको थियो । हाल ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कको एफपीओ बिक्रीपछि ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।