थामिएन नेप्से, कारोबार रकममा पनि भारी गिरावट

सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब दोहोरो अङ्कले घटेको छ । केही दिनदेखि घट्दै आएको नेप्से बुधबार ९.२९ अङ्कले झरेको छ ।

कारोबारको सुरुमा केही घटेको बजार त्यसपछि मध्यतिर बढेपनि अन्तिम समयमा आएर फेरि घटेको छ । मङ्गलबार नेप्सेको प्राविधिक पक्ष हेर्दा बजार घट्ने सम्भावना देखिएको क्यापिटल नेपालले उल्लेख गरेको थियो ।

विगत केही दिनदेखि नेप्से घट्ने र कारोबार रकम बढ्दै आएकोमा आज भने नेप्सेसँग कारोबार रकम पनि ह्वात्तै घटेको छ । आज ४ हजार ३ सय ९१ कारोबारबाट ९ लाख ८३ हजार १ सय ८ कित्ता सेयर खरिद बिक्री भई ४२ करोड ४३ लाख ७० हजार ३ सय ९३ रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि मङ्गलबार ५९ करोड ९३ लाख ७६ हजार, सोमबार ५६ करोड ८३ लाख २१ हजार र आईतबार ५१ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

बुधबार नेप्सेमा सबैभन्दा बढी नेपाल टेलिकमको ४ करोड ९ लाख ३७ हजार १ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । त्यसपछि बढी बिक्री हुनेमा ग्रामीण विकास बैङ्कको ८९ हजार १ सय ९५ कित्ता संस्थापक सेयर किनबेच भएको छ । यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ३ सय ६० ओटा कारोबार भएको छ । बजार घट्ने क्रमसँगै नेप्सेको बजार पुँजीकरण पनि घट्दै गएको छ । बुधबारको बजार पुँजीकरण १७ खर्ब २६ अर्ब ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ । आज नेप्सेमा कारोबार भएका नौ ओटै उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी गिरावट बिमा उपसूचक ४३.४९ बिन्दु र उत्पादनमूलक उपसूचक ३५.८१ बिन्दु देखिएको छ भने सबैभन्दा कम गिरावट होटल उपसूचक ०.१८ बिन्दु र वित्त १.१४ बिन्दुु देखिएको छ ।