तामाकोशीको सेयर काठमाडौंमा सनराइज बैङ्कबाट भर्न पाइने, विदेशमा अनलाइनबाटै

तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले काठमाडौंमा बसोबास गर्ने दोलखालीहरुले सनराइज बैङ्कबाट मात्र सेयर हाल्न पाउने बताएका छन् । सनराइज बैङ्कका शाखामार्फत काठमाडौं, भक्तपुर र ललितपुरमा बस्ने दोलखालीहरुले सेयर हाल्न पाउने उनको भनाइ छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

दोलखाबासीका लागि खुल्न लागेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर सनराइज बैङ्कबाट मात्र भर्न पाइने भएको छ । दोलखाका स्थानीय सरकार र राजनीतिक दलको आग्रहपछि काठमाडौंबाट सेयर भर्न मिल्ने प्रावधान बनाए पनि सबै बैङ्कबाट भने सेयर हाल्न नपाउने भएका हुन् ।
तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले काठमाडौंमा बसोबास गर्ने दोलखालीहरुले सनराइज बैङ्कबाट मात्र सेयर हाल्न पाउने बताएका छन् । सनराइज बैङ्कका शाखामार्फत काठमाडौं, भक्तपुर र ललितपुरमा बस्ने दोलखालीहरुले सेयर हाल्न पाउने उनको भनाइ छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरिले सनराईज बैङ्कबाट मात्र काठमाडौंमा बस्ने दोलखाबासीलाई सेयर हाल्न पाउने व्यवस्थाका लागि छलफल भएपनि निर्णय भइनसकेको बताए । निश्चित समयका लागि भएकाले सनराइज बैङ्कलाई जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।
दोलखाबासीका लागि यही साउन १६ देखि भदौ १४ गतेसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ । कम्पनीले एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गर्दैछ ।

स्थानीयका लागि खुला गरिएको सेयरलाई तीन वर्गमा विभाजन गरिएको छ । आयोजना अति प्रभावित लामाबगर र गौरीशङ्करलाई ‘क’ वर्ग, प्रसारण लाइन र प्रवेश मार्गले छोएका वडाहरुलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा राखिएको छ । ‘क’ वर्गकाले अधिकतम ३ सय कित्ता र ‘ग’ वर्गकाले न्यूनतम ३० कित्ता सेयर खरिद गर्न पाउने छन् ।

यसैबीच वैदेशिक रोजगारीमा रहेका दोलखाका बासिन्दाले अनलाइनमार्फत सेयर आवेदन फाराम भर्न पाउने भएका छन् । बिक्री प्रबन्धक, नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोशी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।