मुस्ताङ र डोल्पा जान विदेशी पर्यटकलाई परमिट पाउनै कठिन

विषेशगरी अपरमुस्ताङ र डोल्पामा बाह्य पर्यटक लैजान निकै गाह्रो हुने गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य एवम् पर्यटन व्यवसायी पम्फा धमलाले अपरमुस्ताङ र डोल्पाका लागि परमिट बनाउन समस्या हुने गरेको बताइन् ।

भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी योजना छ । तर, नेपालभित्र रहेका पर्यटकीय स्थलसम्म जान पर्यटकले धेरै समस्या झेल्नु परेको पर्यटन व्यवसायीको गुनासो छ ।

विषेशगरी अपरमुस्ताङ र डोल्पामा बाह्य पर्यटक लैजान निकै गाह्रो हुने गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य एवम् पर्यटन व्यवसायी पम्फा धमलाले अपरमुस्ताङ र डोल्पाका लागि परमिट बनाउन समस्या हुने गरेको बताइन् । सरकारले तत्कालै त्यस क्षेत्रको परमिट सहज बनाउन पहल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो समय मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपनि सरकारी नीतिकै कारण ट्राभल कम्पनी र पर्यटकहरुले अनावश्यक दुख पाउने गरेको व्यवसायीहरु बताउँछन् । सो क्षेत्रमा जान १० दिनको प्रतिव्यक्ति पाँच सय डलर रुपैयाँ तिर्नुपर्छ । डोल्पा र अपरमुस्ताङमा एक जनामात्र पर्यटक लैजान अध्यागमन विभागले अनुमति नदिने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का महासचिव आङपेम्बा शेर्पाले अपर मुस्ताङ, डोल्पा, हुम्लाको लिमी, दोलखाको गौरीशङ्कर, गोर्खाको चुनभ्याली र मनास्लु, कञ्जनजङ्घा क्षेत्रमा जान समस्या रहेको बताए । आफूहरुले पटक पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको महासचिव शेर्पाको भनाइ छ । कतिपय पर्यटकहरु नेपालमा आएको भोलिपल्टै सो क्षेत्रमा जानेगरी आउने हुँदा अनुमतिका लागि धेरै समस्या पर्ने गरेको शेर्पा बताउँछन् । आफूहरुले सरकारलाई पासपोर्टकाे फोटो कपीको आधारमा पनि परमिट पाउनु पर्ने माग राख्दै आएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अपर मुस्ताङ लगायतका पर्यटकीय स्थलमा विदेशी पर्यटकलाई लैजान सहज बनाउन आफूहरुले अध्ययन गरिरहेको बताए । त्यससम्बन्धी केही समयपछि नयाँ निर्णय आउने सचिव देवकोटाको भनाइ छ ।