किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका सेयर

सबै नागरिकलाई सेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै सेयर मूल्य ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको सेयर मूल्य न्यूनतम बिन्दुमा छ ।

सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा सेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई सेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

सबै नागरिकलाई सेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै सेयर मूल्य ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको सेयर मूल्य न्यूनतम बिन्दुमा छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै सेयर मूल्य ७४० रूपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४३६ रूपैयाँ छ । बाँकी रहेका १६ अाेटा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

गत फागुनमा थप सेयर निष्कासन गरेपछि बुटवल पावर कम्पनीको सेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई सेयर उपलब्ध गराउने बताइरहँदा सेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ ।

नेसनल हाइड्रो पावर कम्पनीको सेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता सेयर ८६ रूपैयाँमा खरीद बिक्री भइरहेको छ । गत वर्ष ६५६ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको सेयर हाल २७४ रूपैयाँ मा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २५५, अरुण भ्यालीको १४०, बरुण हाइड्रोपावर कम्पनीको सेयर १४१ रूपैयाँ मूल्यमा खरीद बिक्री भइरहेको छ ।

निरन्तर ओरालो लागेको सेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ ।

स्टकका अनुसार छ्याङ हाइड्रो पावरको सेयर १२८ रूपैयाँमा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २७४, खानीखोला हाइड्रो पावरको १०६ रूपैयाँमा खरीद बिक्री भइरहेको छ । सो कम्पनीको सेयर गत वर्ष पनि २०५ रूपैयाँमा बिक्री भएको थियो ।

यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको १६५, न्यादी समूहको १६०, राधी विद्युत् कम्पनीको २३२, रैराङ हाइड्रोको १५५, रिडी हाइड्रो पावरको १२२, सानिमा माइको ३१९, सिनर्जी पावरको ११८ र युनाइटेड मोदीको प्रतिकित्ता १६६ रूपैयाँमा सेयर खरीद बिक्री भएको छ ।

सेयर बजारमा जलविद्युत् कम्पनीको सेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैङ्क तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस सेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि सेयर बजारमा दबाब परेको छ ।

सेयर बजारमा जलविद्युत् कम्पनीका सेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० अाेटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण सेयर बिक्रीका लागि अनुमति दियो । यस्तै सेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् ।

सेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने निकर्योल गर्दा राम्रो हुने सुझाव दिएको छ ।

बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर सेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ ।

स्टकका अनुसार आज बजार २.९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २५१.०८ बिन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको पाँच लाख ७८ हजार ९३३ कित्ता सेयर १६ करोड ७७ लाख ३९ हजार ६९७ रूपैयाँमा खरीद बिक्री भएको छ ।

आज तीन उपसमूहको सेयर बढ्दा सात उपसमूहको सेयर भने घटेको छ । बैंकिङ २.२६, होटल १७.१८, निर्जीवन बीमा २४.९५, उत्पादन ५.३६ अन्य २.४६, माइक्रोफाइनान्स ५.६१, बीमा २७.६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३.११, जलविद्युत् २.९८ र फाइनान्स समूहको सेयर ०.७८ बिन्दुले बढेको छ । रासस