अमेरिकी एएआर कर्पोरेसनमार्फत १० करोड ४८ लाख अमेरिकी डलरमा खरिद गरेको आफ्नै जहाजले पहिलो पटक व्यावसायिक उडान भर्न लागेको हो ।
२ सय ३८ जना प्यासेन्जर लिएर नेपाल वायुसेवा निगमले पहिलो आफ्नै वाइड बडी विमान अन्नपूर्णबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । ९एन–एएलवाई एयरबस ३३०–२०० विमानको क्षमता २ सय ७४ सिटको हो । तीमध्ये १८ बिजनेस क्लास र २ सय ५६ इकोनमी क्लासका सिट छन् ।
बुधबार राति ९.३५ बजे २ सय ३८ जना प्यासेन्जर लिएर उडान गर्न लागेको वायुसेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । विमानमा वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारसहितको टोली पनि दोहा जाने भएका छन् । अमेरिकी एएआर कर्पोरेसनमार्फत १० करोड ४८ लाख अमेरिकी डलरमा खरिद गरेको आफ्नै जहाजले पहिलो पटक व्यावसायिक उडान भर्न लागेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ट्विटरमार्फत खुसी व्यक्त गरेका छन् । उनले राष्ट्रिय ध्वजावाहकलाई सफल उडानको शुभकामनासमेत दिएका छन् ।
निगमले व्यावसायिक उडान सुरु गरेको कतार नेपालीहरुको लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । आर्थिक वर्ष २०७४÷७५ मा १ लाख ११ हजार ७९ नेपाली रोजगारका लागि कतार पुगेका छन् ।