पाँच वर्षभित्र अन्तर्राष्ट्रिय हवाइ व्यापारको हिस्सा ६० प्रतिशत बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि ६ ओटा र आन्तरिक उडानका लागि १५ ओटा विमान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो ।

नेपाल वायुसेवा निगमले पाँच वर्षभित्र अन्तर्राष्ट्रिय हवाइ व्यापारको हिस्सा ६० प्रतिशत पुर्याउने भएको छ । सो अवधिमा निगमले अन्तर्राष्ट्रिय उडानमा न्यारो बडी र वाइड बडी गरी १० ओटा जहाज सञ्चालनमा ल्याइसक्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि ६ ओटा र आन्तरिक उडानका लागि १५ ओटा विमान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो । मन्त्रालयले पर्यटन क्षेत्रबाट मुलुकको जीडीपीमा कम्तीमा १० प्रतिशत योगदान पुर्याउने लक्ष्य लिएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसक्ने, नवीनतम प्रविधि एवम् आधुनिक प्रविधिको निजगढ विमानस्थलको ५० प्रतिशत काम सम्पन्न भइसक्ने र नवीनतम प्रविधिका अन्तर्राष्ट्रियस्तरका विमानस्थल नाफामा आइसकेको हुने बताए ।

यस्तै सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका कम्तीमा एक विमानस्थलको कार्यक्रम अघि बढाउने, प्रयोगमा नआएका विमानस्थलहरुमा एयर सपोर्ट एक्टिभिटिज सञ्चालन हुने, सबै स्थानीय तहमा एक÷एक ओटा हेलिप्याड निर्माण भई सञ्चालनमा आइसक्ने र काभ्रेको नागीडाँडामा नयाँ आन्तरिक विमानस्थल सञ्चालनमा आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक एयर ट्राफिक जामको ३० प्रतिशत भार घटिसक्ने सो रणनीतिक योजनामा उल्लेख गरिएको छ ।

यसैगरी संस्कृतितर्फ ३ वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण भइसक्ने, लुम्बिनीको केन्जोटांगेको योजना, पशुपतिको बृहत् गुरुयोजना, मुक्तिनाथ, रारा, खप्तड, स्वर्गद्वारी र जनकपुरको गुरुयोजना कार्यान्वयन सम्पन्न हुने, नारायणहिटी सङ्ग्रहालयको गुरुयोजना कार्यान्वयन हुने र राष्ट्रिय जातीय सङ्ग्रहालय राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालययमा रुपान्तरण भई सुव्यवस्थित भइसक्ने उल्लेख छ ।