कात्तिकभित्र श्रीपेच सार्वजनिक गरिने

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते दरबार छाडेपछि कडा सुरक्षा घेराभित्र श्रीपेच राखिएको छ ।

सबैको चासोका रुपमा रहेको श्रीपेच कात्तिकभित्र सार्वजनिक गरिने भएको छ । नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि हालसम्म श्रीपेच सार्वजनिक गरिएको थिएन ।

श्रीपेच सार्वजनिक गर्न आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । कात्तिक २५ भित्र सार्वजनिक गरिसक्ने गरी काम गरिरहेको उनले बताए । भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यका साथ श्रीपेच सार्वजनिक गर्न लागिएको उनको भनाइ छ । पूर्वराजाको श्रीपेचलाई स्वदेशी एवम् विदेशी पर्यटकले चासोका रुपमा लिने गरेको र राजधानीको विषेश गन्तव्यभित्र नारायणहिटी दरबार पनि पर्ने विश्वास आफूहरुको रहेको उपाध्यायले बताए ।

राजतन्त्रको अन्त्यसँगै श्रीपेचलाई नेपाली सेनाको जिम्मामा नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ । लामो समयदेखि सर्वसाधरणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिए पनि हालसम्म सार्वजनिक गरिएको छैन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जेठ १६ गते नारायणहिटी दरबार सङ्ग्रहालयको निरीक्षण गरी ३ महिनाभित्र श्रीपेच सार्वजनिक गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । तर निर्देशन दिएको २ महिना बितिसक्दा पनि श्रीपेच सार्वजनिक हुन सकेको छैन ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि दरबारको निरीक्षण गरी तत्काल श्रीपेच सार्वजनिक गरिने बताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते दरबार छाडेपछि कडा सुरक्षा घेराभित्र श्रीपेच राखिएको छ ।