सातामा नेप्सेसँगै कारोबार रकम पनि स्थिर

गत साताको बिहीबार १ हजार १ सय ९१ दशमलव २ अङ्कमा रोकिएको नेप्से यस शून्य दशमलव २९ अङ्कले बढ्दै साताको अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ ।

यस साता सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार स्थिरजस्तै देखिएको छ । गत साताको बिहीबार १ हजार १ सय ९१ दशमलव २ अङ्कमा रोकिएको नेप्से यस शून्य दशमलव २९ अङ्कले बढ्दै साताको अन्तिम दिन बिहीबार १ हजार १ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ ।

सातामा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँबराबरको कारोबार भएको छ, जुन गत साताको कारोबार रकमभन्दा १ दशमलव ९४ प्रतिशतले बढी हो । गत साता नेप्सेमा एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत साताको भन्दा २ करोड रुपैयाँले कारोबार बढेको नेप्सेमा माछापुच्छ्रे बैङ्कको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै सातामा माछापुच्छ्रे बैङ्कको ३ लाख ३५ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमको दोस्रो सूचीमा रहेको एनएमबी बैङ्कको ५ करोड ८० लाख ३ हजार रुपैयाँबराबरको कारोबार तथा नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैङ्कको ४ करोड ८५ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी जलविद्युत् लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ७ सय ३१ पटक कारोबार भएको नेप्सेले जनाएको छ ।

सामान्य अङ्कले घटेको नेप्से साताको २ दिन सुधार आएपनि ३ दिन गिरावट आएको छ । आइतबार र बुधबार बढेको नेप्से, सोमबार, मङ्गलबार र बिहीबार गिरावट आएको थियो ।

नेप्सेका अनुसार यस साता १ सय ८१ कम्पनीको १५ हजार ३ सय १० कारोबारबाट ४० लाख ८४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री भएको छ भने गत साता १ सय ७९ कम्पनीको १६ हजार ८ सय ८६ कारोबारबाट ३९ लाख ४५ हजार ७ सय ६० कित्ता सेयर किनबेच भएको थियो ।

साताको पाँचै दिन कारोबार खुला रहेको नेप्सेमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।