सिटिजन्सको एफपीओमा १५ गुणा बढी आवेदन, १ अर्ब २१ करोडको सेयर माग

बैङ्कले गत मङ्गलबारदेखि १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले एफपीओ बिक्रीमा ल्याएको थियो । एफपीओमा मागभन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा बिक्री बन्द भएको छ ।

सिटिजन्स बैङ्कले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा जारी सेयर सङ्ख्याभन्दा १५ गुणा बढी आवेदन परेको छ । बैङ्कको एफपीओमा हालसम्म ६० लाख ८८ हजार ७ सय ३ कित्ता सेयरमा आवेदन परेको छ । बैङ्कको सेयर आवेदन आज बन्द हुँदै छ ।

बैङ्कले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निष्कासन गरे पनि शुक्रबार ३ बजेसम्म त्यसको १५ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ । क्यापिटलका अनुसार एफपीओमा ६२ हजार ६ सय ८१ आवेदन परेको छ । कुल ९ करोड २७ लाखको एफपीओमा अहिलेसम्म १ अर्ब २१ करोड ७७ लाख ४० हजार ६ सय रुपैयाँबराबरको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

यो नै अन्तिम आवेदन नभएको ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए । अनलाइनका माध्यमबाट भर्ने, गणना भइरहेको र अयोग्य आवेदनको सङ्ख्या घटाउन बाँकी भएकाले सङ्ख्या तलमाथि हुन सक्ने सम्भावना भएको उनको भनाइ छ ।

बैङ्कले गत मङ्गलबारदेखि १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले एफपीओ बिक्रीमा ल्याएको थियो । एफपीओमा मागभन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा बिक्री बन्द भएको छ ।
बिहीबारसम्म ३९ हजार ८ सयभन्दा बढी आवेदनबाट ४२ लाख कित्ता सेयरको मााग गरिएको थियो । तर, आज अन्तिम दिन करिब २० लाख कित्ता बढी सेयरमा आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । सिटिजन्सको एफपीओमा अत्याधिक आवेदन परेपछि एफपीओ गोलाप्रथाबाट बाँडिने भएको छ ।