नेपाल बैङ्कको एफपीओमा आवेदन गरेजति नै सेयर

बैङ्कले बिक्रीमा ल्याएको एफपीओको ५३ प्रतिशत मात्र आवेदन परेकाले ८ मर्चेन्ट बैङ्कले ४७ प्रतिशत सेयर लिनुपर्ने भएको थियो । मर्चेन्ट बैङ्कहरुले अब २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० रुपैयाँबराबरको ८३ लाख ९ हजार १ सय ८ कित्ता सेयर किन्नेछन् ।

नेपाल बैङ्कको थप सार्वजनिक निष्कासन (एफपीओ) आइतबार बाँडफाँट भएको छ । बैङ्कको एफपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले प्रमाणीकरण भएका आवेदकले आवेदन गरेको कित्ताअनुसार नै सेयर बाँडफाँट गरिएको बताएको छ । एफपीओ बाँडफाँट दिउँसो १ बजे भएको हो ।

बैङ्कले बिक्रीमा ल्याएको एफपीओको ५३ प्रतिशत मात्र आवेदन परेकाले ८ मर्चेन्ट बैङ्कले ४७ प्रतिशत सेयर लिनुपर्ने भएको थियो । मर्चेन्ट बैङ्कहरुले अब २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० रुपैयाँबराबरको ८३ लाख ९ हजार १ सय ८ कित्ता सेयर किन्नेछन् ।

बैङ्कले असार १५ गतेदेखि साउन १३ गतेसम्म १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो, जसमध्ये सर्वसाधारण, सञ्चालक र कर्मचारीको कुल ९३ लाख ७५ हजार ७ सय ५० कित्ता एफपीओमा आवेदन परेको थियो । बैङ्कको सेयरमा २३ हजार ६ सय २४ आवेदन परेको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

हाल कम्पनीको ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी छ भने एफपीओ निष्कासनपछि ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपीओपछि बैङ्कमा सरकार र सर्वसाधारणको सेयर स्वामित्व ५१ः४९ प्रतिशत हुनेछ ।