निर्वाचन भएदेखि नेप्से परिसूचक ओरालो

खासगरी बामगठबन्धनको बहुमत र सरकार निर्माणमा देखिएको अन्यौल, बैङ्क तथा वित्तीय संस्थामा वित्तीय सङ्कुचन आउँदा देखिएको तरलता (लगानीयोग्य रकम) अभाव, सेयर दलालले प्राप्त गर्ने कमिसनमा मूल्य अभिबृद्धि कर लगाउने सरकारको प्रतिबद्धता, लाभांश र हकप्रद घोषणापछिको मूल्य समायोजनजस्ता कारणले बजार खस्किएको मानिएको छ ।

मुलुकलाई सङ्क्रमणकालबाट निकास दिने र सङ्घीयता कार्यान्वयनको पहिलो आधारस्तम्भका रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) रोकिने छाँटकाँट देखिएको छ । मंसिर २० गते १५३६.५४ अङ्कमा रहेको नेप्से २ सातामा १४७२.१५ अङ्कमा झरेको छ । मंसिर २१ गते आमनिर्वाचनअन्र्तगत दोस्रो चरणको निर्वाचन भएपछि लगातार नेप्सेमा गिरावट आएको छ ।

यो साताको अन्तिम दिन आज (बिहीबार) पनि बजार दोहोरो अङ्कले घटेको छ । आज उत्पादनमूलक उपसमूह सूचकबाहेक अन्य ८ ओटै उपसूचक घटेपछि नेप्से १२.३२ अङ्क अर्थात् ०.८३ प्रतिशतले घटेको छ । निर्वाचनपछि प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको अनौपचारिक मतपरिणामले वामगठबन्धनलाई सहज बहुमत दिएपछि नेप्से थामिएको छैन । सुरुआती मतपरिणामप्राप्त हुँदा तीव्र रुपमा घट्न खोजेको नेप्से वामगठवन्धनका नेता केपी शर्माओलीको सम्बोधनपछि स्थिरजस्तो देखिएको थियो । तर, पछिल्ला दिनहरुमा भने दैनिकजस्तो दोहोरो अङ्कको गिरावट आएको छ । सुरुआती दिनमा नेप्से घट्दा कारोबार रकम बढेकाले बजारमा आशा गर्ने आधार दिएको थियो । तर, पछिल्ला दिनमा कारोबार रकम पनि घट्न थालेपछि बजारमा निराशा छाएको छ । बजार घट्नुपर्ने कुनै एउटा आधार मात्र मान्न सकिने स्थिति छैन । बजार घट्नुमा अहिले धेरै विषयबस्तुलाई सतहमा देखाइने गरेको छ ।

खासगरी वामगठबन्धनको बहुमत र सरकार निर्माणमा देखिएको अन्यौल, बैङ्क तथा वित्तीय संस्थामा वित्तीय सङ्कुचन आउँदा देखिएको तरलता (लगानीयोग्य रकमम) अभाव, सेयर दलालले प्राप्त गर्ने कमिसनमा मूल्य अभिबृद्धि कर लगाउने सरकारको प्रतिवद्धताजस्ता कारणले बजार खस्किएको मानिएको छ । तर, यो अवधिमा अधिकांश कम्पनीहरुले लाभांश वितरण गरिसकेको र कतिपय कम्पनी लाभांश वितरणको अन्तिम तयारीमा रहेको, हकप्रद सेयर भर्न अधिक रकमको आवश्यकता र यदाकदा स–सानो मात्रामा आइरहने प्राथमिक निस्कासनको असर पनि नेप्सेको कारोबारमा परेको देखिन्छ । लाभांश बाँडफाँट तथा हकप्रदको बुक क्लोजपछि एक किसिमको मूल्य समायोजन र आगामी लाभांशका लागि लामो समय कुर्नुपर्ने जस्ता कारणले पनि बजार खस्किरहेको यथार्थ हो ।

आज ५ हजार १ सय २ कारोबारबाट ९ लाख ९० हजार ९ सय ८ कित्ता सेयर किनबेच भई ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबार ४ हजार ३ सय ९१ कारोबारबाट ९ लाख ८३ हजार १ सय ८ कित्ता सेयर खरिद बिक्री भई ४२ करोड ४३ लाख ७० हजार ३ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार नेप्सेमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ३ करोड ७७ लाख ३० हजार ७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि जनता बैङ्क नेपालको ९८ हजार ९ सय १५ कित्ता सेयर र मुक्तनाथ विकास बैङ्कको ३ सय ९४ ओटा कारोबार भएको छ । नेप्सेमा उत्पादनमूलक समूहको १४.९४ अङ्कको बृद्धि देखिएपनि सबैभन्दा बढी गिरावट बिमा उपसूचक ७७.६१ बिन्दु, अन्य समूह २३.१४ बिन्दु, जलविद्युत् २२.४७ बिन्दु, लघुवित्त २१.०५ बिन्दुलगायतले बजार घटेको छ ।