अर्थमन्त्री हटाउने हल्ला सत्य नभएपछि नेप्से १७ अङ्कले घट्यो, कारोबार रकम २५ करोड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्रीबारेका हल्ला निराधार भएको प्रस्ट्याएपछि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकाएक घटेकोे हो ।

बजारमा अर्थमन्त्री डा युवराज खतिवडासँग रुष्ट रहेका सेयर लगानीकर्ताले केही समयदेखि चलाएको हल्ला निराधार भएपछि सेयर बजार तीव्र गतिमा घटेको छ । दुई सातादेखि स्थिरजस्तै देखिएको बजार साताको पहिलो दिन करिब १७ अङ्कले ओरालो लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्रीबारेका हल्ला निराधार भएको प्रस्ट्याएपछि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकाएक घटेकोे हो । केही समयदेखि नेकपाका नेता तथा कार्यकर्ताले अर्थमन्त्री हटाउन माग गर्दै आएका छन् भने सामाजिक सञ्जालमा अर्थमन्त्री हट्ने भनेर व्यापक चर्चा गरिँदै आएको थियो । गत साता दाहालले चितवनमा आयोजित एक कार्यक्रममा तत्काल अर्थमन्त्री हटाउने कुनै योजना नरहेको बताएका थिए । त्येसैको असर आइतबारको सेयर बजारमा परेको छ ।

आइतबार १ हजार १ सय ८० दशमलव ६९ अङ्कबाट सुरु भएको बजार १६ दशमलव ६९ अङ्कले ओरालो लाग्दै कारोबार बन्द हुँदा १ हजार १ सय ६३ दशमलव ९४ अङ्कमा पुगेको हो ।

आज बजार सुरु भएदेखि घट्न थालेको परिसूचक २ घन्टासम्म लगातार घटेर १० अङ्कको गिरावट आएको थियो । त्यसपछि केही स्थिर रहँदै नेप्से १६ अङ्कले तल झरेको हो । आज नेप्सेमा १ सय ६२ कम्पनीको ४ हजार १ सय ७६ कारोबारबाट ७ लाख ८१ हजार ५ सय ६० कित्ता सेयर किनबेच भई २५ करोड २ लाख २६ हजार ४ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा ६ करोड रुपैयाँ बढी हो ।

नेप्सेमा गत साताको बिहीवार १ सय ६३ कम्पनीको ८ लाख ६९ हजार कित्ता सेयर किनबेच भई १९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भई ६ दशमलव ६९ अङ्कले परिसूचक घटेको थियो ।

नेप्सेमा वर्गीकृत समूहमध्ये आज ९ समूहमा गिरावट आउँदै २ समूहको सूचक बढ्दा सम्रग नेप्से दोहोरो अङ्कले ओरालो लागेको हो । सबैभन्दा बढी अङ्कले घटेको जीवन बिमा १ सय ९३ दशमलव ३७, निर्जीवन बिमा १ सय ५ दशमलव ७४, उत्पादनमूलक ६३ दशमलव ५८, लघुवित्त ३१ दशमलव ५३, जलविद्युत् २१ दशमलव १९, विकास बैङ्क १३ दशमलव २२, बैङ्किङ ११ दशमलव ८७, अन्य ४ दशमलव ७२ तथा वित्त ३ दशमलव ५९ अङ्कले घटेको छ ।

यस्तै, आज होटल ६ दशमलव ७३ र व्यापार समूह २ दशमलव ११ अङ्कले बढेको छ । बजार १६ अङ्कले घटे पनि आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर ३ दशमलव ८७ प्रतिशतले बढेको छ भने मल्टिप्रपोज फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । यस्तै आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सकैभन्दा बढी ४ सय ८७ पटक कारोबार भएको छ ।