गभर्नरको बोलीमा नेप्सेको लोली, १० अङ्कले बढ्यो

आइतबार करिब १७ अङ्कले घटेको बजार सोमबार भने १० दशमलव ४३ अङ्कले बढेको हो । तर गभर्नरको बोलीको प्रभाव कारोबारमा भने परेको छैन । आज बजार बढेपनि कारोबार रकम १६ करोड रुपैयाँमा सीमित भएको छ ।

लगातार घटिरहेको सेयर बजारका बारेमा गभर्नर डा चिरञ्जीवी नेपालको सकारात्मक प्रतिक्रिया आएपछि बजार उकालो लागेको छ । गभर्नर नेपालले आइतबार मात्रै एक कार्यक्रममा सेयर बजार धेरै तल नजाने बताएका थिए । त्यसैको प्रभाव सोमबारको बजारमा परेको छ ।

आइतबार करिब १७ अङ्कले घटेको बजार सोमबार भने १० दशमलव ४३ अङ्कले बढेको हो । तर गभर्नरको बोलीको प्रभाव कारोबारमा भने परेको छैन । आज बजार बढेपनि कारोबार रकम १६ करोड रुपैयाँमा सीमित भएको छ ।

१ हजार १ सय ६३ दशमलव ९६ अङ्कबाट सुरु भएको आजको बजार १० दशमलव ४३ अङ्कले बढेर १ हजार १ सय ७४ दशमलव ३७ अङ्कमा पुगेपछि कारोबार बन्द भएको हो । सोमबार कारोबार सुरु भएदेखि सकारात्मक बाटोमा लागेको नेप्से केही समय स्थिर रहँदै उकालो लागेको हो ।

आज १ सय ५७ कम्पनीका ३ हजार १ कारोबारबाट ५ लाख ३३ हजार ४ सय ९२ कित्ता सेयर खरिदबिक्री भई १६ करोड ९६ लाख ६१ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ९ करोड रुपैयाँले कम हो ।

साताको पहिलो दिन आइतबार १६ दशमलव ६९ अङ्कले घटेको नेप्सेमा १ सय ६२ कम्पनीका ४ हजार १ सय ७६ कारोबारबाट ७ लाख ८१ हजार ५ सय ६० कित्ता सेयर किनबेच भई २५ करोड २ लाख २६ हजार ४ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजार दोहोरो अङ्कले बढेको दिन आज नेप्सेमा वर्गीकृत समूहमध्ये १० समूहको कारोबार भई १ समूहबाहेक सबै समूहमा सकारात्मक सुधार आउँदा समग्र नेप्सेमा त्यसको प्रभाव परेको हो । आज नेप्सेमा होटल २ दशमलव ५ अङ्कले घट्यो भने व्यापार समूहको कारोबार भएन ।

सबैभन्दा बढी जीवन बिमा १ सय १० दशमलव ८५, निर्जीवन बिमा ७५ दशमलव ५५, विकास बैङ्क १६ दशमलव २२, लघुवित्त १५ दशमलव २ र बैङ्किङ ७ दशमलव ५४ अङ्कले बढेको छ । अरु समूहमा भने सामान्य सुधार आएको छ ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १ सय ९१ कारोबार भएको छ । यस्तै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ४ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९ दशमलव ९ प्रतिशतले घटेको छ ।