हरेक क्षेत्रका सांसद् तथा मेयर सीईओ भेट्न पर्यटन बोर्डबाहिर लाइनमा बसेका हुन्छन् । मेयर तथा सांसदको भीडका कारण जोशीले गर्नुपर्ने काम समेत सञ्चालन गर्न सकेका छैनन् ।
देश सङ्घीयातमा गइसकेपछि हरेक कार्यक्रम बनाउने अधिकार तल्लो तहले पाएका छन् । तर सांसद् तथा मेयरको भने योजना पारिदिन भन्दै पर्यटन बोर्डमा भीड लाग्ने गरेको छ ।
कस्तो कार्यक्रम बनाउने, कुन कार्यक्रमलाई कति बजेट विनियोजन गर्ने भन्ने सम्पूर्ण अधिकार हुँदैहुँदै पनि मेयर तथा सांसद बोर्डमा पुग्ने गरेका छन् । ‘हरेक दिन ४० देखि ५० जना सांसद तथा मेयर कार्यक्रम पारिदिन भन्दै आउने गरेका छन्,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘कार्यक्रम तथा बजेट विनियोजनको सम्पूर्ण अधिकार तपार्इंहरुलाई नै छ । बजेटअनुसारको कार्यक्रम बनाउन सक्नुहुन्छ भनेपछि फर्किने गरेका छन् ।’
आफ्नो अधिकार के हो भन्ने नबुझेपछि सांसदहरु बोर्डमा कार्यक्रम पार्न आग्रह गर्दै आउने गरेका छन् । जब कि अहिले एउटा प्रदेशलाई ६० करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्म पर्र्यटनका लागि बजेट गएको छ । पुरानो ‘ह्याङ्ओभर’ नसकिएकाले कार्यक्रम पार्न बोर्ड आउने गरेका हुन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कार्यक्रम पार्न आग्रह गर्न आउने सांसद तथा मेयरको लाइन लामो भएको बताए ।
सरकारले हरेक अधिकार तल्लो तहमा पठाइसकेको छ । त्यसलाई सांसद तथा मेयरले बुझ्न नसकेको बोर्डले जनाएको छ । ‘बजेट उनीहरुसँगै छ, अधिकार पनि पाएका छन्, तर पनि योजना लिएर बोर्डमा आइरहेका छन्,’ उनले भने ।
हरेक क्षेत्रका सांसद् तथा मेयर सीईओ भेट्न बाहिर लाइनमा बसेका हुन्छन् । मेयर तथा सांसदको भीडका कारण जोशीले गर्नुपर्ने काम समेत सञ्चालन गर्न सकेका छैनन् ।