वायुसेवा निगमले केही महिनाअघि मात्र दुई ओटा वाइड बडी विमान नेपाल भित्र्याएसँगै नयाँ गन्तव्यहरुको खोजी गरिरहेको छ । लामो समयपछि नेपाल एयरलाइन्सले जापानका विभिन्न सहरमा नेपाली जहाज उडान अनुमति पाएको छ ।
युरोपेली युनियन (ईयू)का कारण नेपाली राष्ट्रिय ध्वजावाहकले अस्ट्रेलियामा उडान अनुमति पाउन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ईयूकै कारण अस्ट्रेलियामा उडान अनुमति लिन नसकिएको बताए । अस्ट्रेलियामा पछिल्लो पटक धेरै नेपालीहरु अध्ययनका लागि जाने गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले कालोसूचीबाट हटाइसक्दा पनि ईयूले नहटाउँदा युरोपमा नेपाली ध्वजावाहक जहाज उडानमा समस्या भएको पर्यटनमन्त्री अधिकारीको भनाइ छ । ‘१९३/९४ देश सम्मिलित संस्था आइकाओले चाहिँ कालोसूचीबाट हटाएर प्रमाणपत्र नै दिइसक्यो,’ उनले भने, ‘तर युरोपका देशहरु मात्र रहेको संस्था ईयूले भने अझै हटाएको छैन ।’ यस विषयमा आफूहरु गम्भीर भएर लागेको र परराष्ट्र मन्त्रालयका सचिवमार्फत कुरा गरिरहेको उनले जानकारी दिए ।
ईयूका प्रतिनिधिहरु असोज महिनामा अडिटका लागि नेपाल आउन लागेकाले सो अवसरमा कालोसूचीबाट हट्नेमा आफूहरु विश्वस्त रहेको मन्त्री अधिकारीको विश्वास छ । विगत केही वर्षदेखि नेपाली एयरलाइन्सहरुले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकाशमा उडान प्रतिबन्ध लगाइएको छ ।
ईयूले युरोपेली देशहरुको आकाशमा नेपाली एयरलाइन्समाथि लगाउँदै आएको प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन मन्त्रालयले युरोपका विभिन्न देशहरुमा नेपाली जहाजले उडान गर्ने तयारी गरिरहेको छ ।
वायुसेवा निगमले केही महिनाअघि मात्र दुई ओटा वाइड बडी विमान नेपाल भित्र्याएसँगै नयाँ गन्तव्यहरुको खोजी गरिरहेको छ । लामो समयपछि नेपाल एयरलाइन्सले जापानका विभिन्न सहरमा नेपाली जहाज उडान अनुमति पाएको छ ।