सूचकका आधारमा साउनमा लगानीकर्ताको हिसाब बराबर

नेप्सेमा १ सय ६६ कम्पनीका ६ हजार ४ सय ४१ कारोबाबाट १३ लाख ६१ ह्जार ६ सय २७ कित्ता सेयर किनबेच भई ४५ करोड ५२ लाख ४३ हजार ७ सय ८५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ९ करोड रुपैयाँले बढी हो ।

निरन्तर सेयर बजार घटेको भनिए पनि साउन महिना भने लगानीकर्ताका लागि बराबरजस्तो भएको छ । साउन महिना सुरु हुँदा सूचक जहाँ थियो, अन्तिममा पनि त्यही बिन्दुनजिक आएर बजार बन्द भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) असार ३२ गते १ हजार २ सय १२ दशमलव ३६ अङ्कमा रहेकोमा साउन ३१ गते १ हजार २ सय १० दशमलव ३२ अङ्कमा रोकिएको छ । यसरी महिनाभरको कारोबारबाट नेप्से दुई दशमलव शून्य चार अङ्कको मात्रै गिरावट देखिएको छ ।

साउनमा २३ दिन सेयर कारोबार भएकामा ८ दिन नेप्से परिसूचक बढेको छ भने १५ दिन घटेको छ । यद्यपि साउन अन्तिम साताका ३ दिन बजारमा राम्रो सुधार आउँदा लगानीकर्ताले महिनाभरमा औसत रुपमा हेर्दा खासै गुमाउनु नपर्ने अवस्था सिर्जना भएको हो । खासगरी सूचीकृत कम्पनी र त्यसमा पनि वाणिज्य बैङ्कहरुको वित्तीय विवरणले लगानीकर्तालाई उत्साहित बनाएपछि बुधबार एकाएक सूचकमा २८ अङ्कको सुधार देखिएको थियो । त्यसैका कारण महिना सकिँदा ठूलो अन्तर बन्न पाएन ।
बुधबार उच्च अङ्कले बजार बढेपनि बिहीबार भने तीव्र उतारचढावबीच स्थिर रहँदै साउनलाई बिदाइ गरेको छ । तीव्र चलखेलबीच आज बजार शून्य दशमलव ६१ अङ्कले सुधार आएर बन्द भएको हो । परिसूचक स्थिर रहे पनि आज ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ । महिनाको अन्तिम साता आइतबारबाहेक अन्य दिन बजार ओरालो लागेको छैन ।

१ हजार २ सय ९ दशमलव ७१ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै १ हजार २ सय १० दशमलव ३२ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजार तीव्र चलखेलबीच ९ अङ्कले बढेपछि ओरालो लाग्दै ६ अङ्कको गिरावट आएको थियो । तर, बजार पुनः ५ अङ्कले बढेर फेरि ओरालो लागेर बन्द भएको हो ।

आज नेप्सेमा १ सय ६६ कम्पनीका ६ हजार ४ सय ४१ कारोबाबाट १३ लाख ६१ ह्जार ६ सय २७ कित्ता सेयर किनबेच भई ४५ करोड ५२ लाख ४३ हजार ७ सय ८५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ९ करोड रुपैयाँले बढी हो ।

२८ दशमलव ७३ अङ्कले बजार बढेको दिन बुधबार नेप्सेमा १ सय ६५ कम्पनीका ५ हजार ८ सय ३३ कारोबारबाट १० लाख ६८ हजार ५ सय ५७ कित्ता सेयर किनबेच भई ३६ करोड १ लाख ६३ हजार ४ सय ५८ रुपैयाँबराबरको कारोबार भएको थियो । योसँगै साताको पहिलो दिन आइतबारबाहेक सबै दिन नेप्सेमा सुधार आएको छ ।

बजार स्थिर रहेको दिन आज नेप्सेमा वर्गीकृत समूहमध्ये २ समूहमा सुधार आए पनि ९ समूहमा गिरावट आएको छ । आज बैङ्किङ ४ दशमलव १ र उत्पादनमूलक ७७ दशमलव ३२ अङ्कले बढेको छ । तर, होटल २७ दशमलव २५, जीवन बिमा २९ दशमलव ८७, निर्जीवन बिमा २० दशमलव ७७ अङ्कले ओरालो लागेको छ । आज अरु समूहको सूचक पनि ओरालो लागेको छ ।

नेप्सेमा आज बोटलर्स नेपालको सेयर मूल्य ८ दशमलव १० प्रतिशतले बढेको छ भने ललितपुर फाइनान्सको सेयर मूल्य ९ दशमलव ५८ प्रतिशतले घटेको छ । यस्तै, आरम्भ माइक्रोफाइनान्सको सेयर ३ सय ६९ पटक कारोबार भएको छ भने मेगा बैङ्कको ५८ हजार १ सय ४५ कित्ता सेयर किनबेच भएको छ ।