एयर अरेबियाले युरोप उडान सुरु गर्दै, नेपालको पर्यटनलाई पनि टेवा

मध्यपूर्व तथा उत्तर अफ्रिकाको पहिलो र ठूलो बजेट एयरलाइन्स एयर अरेबियाले युरोपेली मुलुकहरुमा उडान भर्ने भएको छ । एयरलाइन्सले डिसेम्बर ११ देखि यूएईबाट चेक गणतन्त्रको राजधानी प्रागमा उडान भर्ने बिहिबार एयर अरेबियाको नेपालस्थित कार्यालयले जानकारी गराएको छ ।

नयाँ गन्तव्य घोषणा कार्यक्रममा एयर अरेबियाको भारत तथा नेपालका क्षेत्रिय प्रबन्धक सचिन नेनले एयर अरेबियाको यूरोप उडानले नेपालको पर्यटनमा नयाँ टेवा पुग्ने बताए । ‘नयाँ गन्तव्यको उडानले भिजिट नेपाल २०२० लाई सहयोग पुग्छ,’ उनले भने ।

एयर अरेबियाका नेपाल म्यानेजर फराज खानले एयर अरेबियाको नयाँ उडानले नेपालका यात्रुहरुलाई युरोप उडानको यात्रा सहज हुने बताए । ‘हामी हाम्रा सेवाग्राहीलाई सहज यात्राका लागि तयार छौं, हामी अझ बढि गन्तव्य थपेर अगाडी बढ्दा यसको फाइदा नेपालको पर्यटनलाई पनि पुग्छ,’ उनले भने ।

पछिल्लो समय धेरै बजेट एयरलाइन्सहरुले खाडीमुलुकमा उडान भरिरहेको बेला एयर अरेबियाले भने युरोपका मुलुकमा उडान सुरु गर्न लागेको हो ।

प्राचिन टाउन स्क्वायर र सुन्दर बारोक भवनहरुका प्रसिद्ध प्राग चेक गणतन्त्रको राजधानी र सबैभन्दा ठूलो सहर हुनका साथै युरोपकै सबैभन्दा चर्चित पर्यटकको गन्तव्यमध्ये पर्छ । यहाँको प्राचीन सम्पदा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छन ।

एयर अरेबियाको सात घण्टा लामो उडान सातामा पाँच दिन, मंगलबार, बुधवार, बिहीबार, शनिबार र आइतबार सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राग भाक्लेभ हाबेल विमानस्थलसम्म हुनेछ । एयर अरेवियाले हाल मध्यपूर्व र उत्तर अफ्रिकास्थित चार केन्द्रबाट एक सय ५० भन्दा बढी स्थानमा उडान भर्दै आएको छ ।