सेयर बजारमा गिरावट कायम, नेप्से ४ अङ्कले घट्यो

साताको पहिलो दिनदेखि घटेको नेप्से आज मङ्गलबार ४ दशमलव २० अङ्कले घटेको छ । परिसूचक घट्दै गएपछि कारोबार रकम पनि खुम्चिँदै गएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मङ्गलबार पनि आफ्नो घट्दो गति कायम राखेको छ । साताको पहिलो दिनदेखि घटेको नेप्से आज मङ्गलबार ४ दशमलव २० अङ्कले घटेको छ । परिसूचक घट्दै गएपछि कारोबार रकम पनि खुम्चिँदै गएको छ ।

पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से सोमबार ८ अङ्कले गिरावट आएको थियो । आज कारोबार सुरु भएदेखि घटेको नेप्से ६ अङ्कको गिरावट आएपछि केही सुधार आउँदै अन्त्यमा ४ अङ्कमा रोकिएको हो ।

बजार घटेको दिन मङ्गलबार १ सय ६१ कम्पनीका ३ हजार १ सय ५४ कारोबारबाट ५ लाख ५७ हजार ४ सय ४३ कित्ता सेयर किनबेच भई १७ करोड ५० लाख ९६ हजार ८ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ५ करोडले कम हो ।

बजार ८ अङ्कले घटेको दिन सोमबार नेप्सेमा १ सय ६० कम्पनीका ३ हजार ६ सय २८ कारोबारबाट ६ लाख ३ हजार १ सय २ कित्ता सेयर खरिदबिक्री भई २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मङ्गलबार नेप्सेमा कारोबार भएका ११ समूहमध्ये ३ समूहमा सुधार आएको छ भने ८ समूहमा गिरावट आएको छ । व्यापार २ दशमलव ९५, निर्जीवन बिमा ४ दशमलव ४७, अन्य १ दशमलव ४७ अङ्कले सुधार आएको छ ।

यस्तै उत्पादनमूलक २२ दशमलव ८५, लघुवित्त १० दशमलव ३३, होटल ८ दशमलव ७६, बैङ्किङ ५ दशमलव ३, विकास बैङ्क ३ दशमलव १८, जलविद्युत् १ दशमलव ७९, वित्त २ दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ५१ अङ्कले घटेको छ ।

आज नेप्सेमा साल्ट ट्रेडिङको सेयर मूल्य ४ दशमलव ८३ प्रतिशतले बढेको छ भने गोर्खा फाइनान्सको सेयर मूल्यमा ४ दशमलव ५४ अङ्कले गिरावट आएको छ ।