नेप्से स्थिर रहँदा १६ करोडको कारोबार

नेपाल पुँजीबजार सङ्घका अध्यक्ष नवराज सुवेदीका अनुसार गभर्नरको भनाइले केही दिन सेयर बजारमा सुधार देखिए पनि अहिले बियरेस ट्रेन्ड चलिरहेकाले बजार अझै ओरालो लाग्नेछ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन ओरालो लागेको छ । आज नेप्से स्थिर अवस्थामा रहँदै १ दशमलव ४७ अङ्क ओरालो लागेको हो । एक हजार एक सय ८३ दशमलव ८३ अङ्कबाट सुरु भएको बजार १ अङ्क घट्दै एक हजार एक सय ८२ दशमलव ४२ अङ्क कायम भएको छ ।

साउन अन्तिम साता नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले दिएको सेयर बजारमैत्री वक्तव्यका कारण एकाएक चमक देखिएको सेयर बजार यस साता भने लगातार घट्दै आएको छ । आइतबार दोहोरो अङ्कले घटेको नेप्से त्यसयताका दिनमा भने स्थिर रहँदै एकल अङ्कले घट्दै आएको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिन थालेको छ ।

नेपाल पुँजीबजार सङ्घका अध्यक्ष नवराज सुवेदीका अनुसार गभर्नरको भनाइले केही दिन सेयर बजारमा सुधार देखिए पनि अहिले बियरेस ट्रेन्ड चलिरहेकाले बजार अझै ओरालो लाग्नेछ ।

आज नेप्सेमा एक सय ५३ कम्पनीका दुई हजार पाँच सय ४६ कारोबारबाट छ लाख ६३ हजार तीन सय ९० कित्ता सेयर खरिदबिक्री भई १६ करोड ९२ लाख ९७ हजार छ सय १५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा एक करोड रुपैयाँले कम हो ।

मङ्गलबार नेप्सेमा एक सय ६१ कम्पनीका तीन हजार एक सय ५४ कारोबारबाट पाँच लाख ५७ हजार चार सय ४३ कित्ता सेयर किनबेच भई १७ करोड ५० लाख ९६ हजार आठ सय तीन रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा उत्पादनमूलक, जलविद्युत् र निर्जीवन बिमाबाहेक सबै समूहमा गिरावट आएको छ । जलविद्युत् ९ दशमलव ६१ अङ्कले ओरालो लागेको छ । यस्तै सबैभन्दा बढी गिरावट आएको जिवन बिमामा ५६ दशमलव ६ अङ्कको गिरावट आएको छ । अरु समूह आज सामान्य अङ्कले ओरालो लागेको छ ।