त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने

धावनमार्ग सन् २०१० मा मर्मत गरिएको थियो । सन् २०१३ देखि विमानस्थलको धावनमार्गको पिचमा कतै कतै धर्सा पर्ने समस्या देखिन थाले पनि हालसम्म पुनर्स्थापना हुन सकेको थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने भएको छ । धावनमार्गको पुनर्स्थापनाका लागि हवाई यातायात क्षमता अभिवृद्धि आयोजना, सिनामङ्लगले बुधवार सूचना प्रकाशन गरेको हो ।

आगामी माघ महिनाको दोस्रो सातादेखि ४ महिनासम्म प्रत्येक दिन ८ घण्टा बन्द गरी धावनमार्ग सुधार तथा निर्माणको कार्य आरम्भ गर्ने कार्ययोजनाका साथ करिब पाँच अर्ब रुपैयाँ लागतको टेन्डर आह्वान गरिएको छ । धावनमार्ग सन् २०१० मा मर्मत गरिएको थियो । सन् २०१३ देखि विमानस्थलको धावनमार्गको पिचमा कतै कतै धर्सा पर्ने समस्या देखिन थाले पनि हालसम्म पुनर्स्थापना हुन सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावनमार्गमा बेला बेलामा देखिने समस्या दीर्घकालका लागि समाधान गर्न लागिपरेका थिए । धावनमार्गको पुनर्स्थापनापछि २४सै घण्टा एयरपोर्ट सञ्चालन गर्न सहज हुने मन्त्री अधिकारीको भनाइ छ ।

धावनमार्गमा आउने समस्याबाट वायुयान सञ्चालनमा अवरोध हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा परिचालन गरिने कार्य टोली खडा गरी धावनमार्गको मर्मत सम्भार भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विशेष गरी वर्षा याममा धावनमार्गको कालोपत्रे बढी उक्किने गरेको छ । यसका लागि दैनिक १० देखि २० मिनेटसम्म विमानस्थल बन्द गरी टाल्ने गरिएको छ । यसबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुँदै आएका छन् ।