साताको पाँचै दिन नेप्से ओरालो, अन्तिम दिन आज तीन अङ्कले घट्यो

पहिलो दिन दोहोरो अङ्कले ओरालो लागेको नेप्से त्यस यताका चार दिन लगातार घटिरह्यो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको पाँचै दिन ओरालो लागेको छ । पहिलो दिन दोहोरो अङ्कले ओरालो लागेको नेप्से त्यस यताका चार दिन लगातार घटिरह्यो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।

यो साताको अन्तिम दिन बिहीबार नेप्से तीन दशमलव ९२ अङ्कले घट्दै बजार बन्द हुँदा एक हजार सय ७८ दशमलव ८० अङ्कमा पुगेको छ ।

बिहीबार एक हजार एक सय ८२ दशमलव ५० अङ्कबाट सुरु भएको नेप्से कारोबार भएदेखि नै ओरालो गतिमा लागेको थियो । नेप्सेमा करिब छ अङ्कको गिरावट आएपछि बजारले स्थिरता लिँदै अन्त्यमा केही वद्धि भई तीन अङ्कमा समेटिएको हो ।

आज नेप्सेमा एक सय ५९ कम्पनीका तीन हजार पाँच सय २ कारोबारबाट १० दशमलव २० हजार पाँच सय ९५ कित्ता सेयर किनबेच भई २७ करोड ७३ लाख आठ हजार दुई सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ११ करोड रुपैयाँले बढी हो ।

बुधबार नेप्सेमा एक सय ५३ कम्पनीका दुई हजार पाँच सय ४६ कारोबारबाट छ लाख ६३ हजार तीन सय ९० कित्ता सेयर किनबेच भई १६ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।

बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका समूहमध्ये अन्य र विकास बैङ्कबाहेक सबै समूहमा गिरावट आएको छ । अन्यमा पाँच दशमलव ७ र विकास बैङ्कमा शून्य दशमलव १८ अङ्कले सुधार आएको छ । यस्तै आज सबैभन्दा बढी उत्पादनमूलक ५४ दशमलव ६७ र जीवन बिमा ३८ दशमलव ६४ अङ्कले घटेका छन् । साथै, निर्जीवन बिमा र जलविद्युत् पनि दोहोरो अङ्कले घटेको छ भने बाँकी समूहमा सामान्य गिरावट आएको छ ।

बिहीबार एनआईबीएल समृद्धि फन्ड १ को सेयर मूल्य छ दशमलव ९ प्रतिशतले बढेको छ भने युनिलिभर नेपाल लिमिटेडको तीन दशमलव ९ प्रतिशतले मूल्य घटेको छ । त्यसैगरी सबैभन्दा बढी एनएमबी बैङ्कको एक लाख ६१ हजार चार सय १३ कित्ता सेयर खरिदबिक्री भएको छ ।