सातामा ३२ अङ्कले घटेसँगै परिसूचक फेरि एक हजार दुई सयभन्दा तल

सातामा नेप्से परिसूचक ३२ दशमलव ८२ अङ्कले घटेको छ भने कारोबार रकम १७ दशमलव ८४ प्रतिशतले घटेको छ । साताभरि लगातार घटेको नेप्से फेरि एक हजार दुई सय अङ्कबाट तल झरेको छ ।

अघिल्लो महिनाको अन्तिम साता एकाएक चमक देखिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस साता भने परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सातामा नेप्से परिसूचक ३२ दशमलव ८२ अङ्कले घटेको छ भने कारोबार रकम १७ दशमलव ८४ प्रतिशतले घटेको छ । साताभरि लगातार घटेको नेप्से फेरि एक हजार दुई सय अङ्कबाट तल झरेको छ ।

अघिल्लो साता एकाएक बढ्दै एक हजार दुई सय अङ्कको बिन्दु पार गरेको नेप्से यो साता एक हजार एक सयकै बिन्दुमा झरेको छ । गत साताको बिहीबार एक हजार दुई सय १० दशमलव ३२ अङ्क पुगेको नेप्से यो साता ३२ अङ्कले घटेर एक हजार एक सय ७८ दशमलव ५० अङ्कमा आइपुग्यो । घट्दो सेयर बजारमा यस साता एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

सातामा कारोबार खुला भएका पाँचै दिन ओरालो लागेको नेप्से पहिलो दिन आइतबार दोहोरो अङ्कले घटेको थियो । त्यसयता लगातार सामान्य अङ्कले घटेको नेप्से बुधबार स्थिर रहँदै अन्तिम दिन बिहीबार पनि गिरावट भएकै अवस्थामा बन्द भयो ।

नेप्सेका अनुसार सातामा एक सय ८५ कम्पनीका १६ हजार ६ सय २० कारोबारबाट ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयर खरिदबिक्री भई एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साताको कारोबार रकमभन्दा २६ करोड रुपैयाँले कम हो ।

गत साता नेप्सेमा एक सय ८५ कम्पनीका २२ हजार पाँच सय २० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

सातामा सबैभन्दा बढी एनएमबी बैङ्कको छ करोड ६१ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैङ्ककै दुई लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् भने नेपाल लाइफ इन्स्योरेन्सको पाँच सय ७९ पटक सेयर कारोबार भएको छ ।