कृष्ण मन्दिरको पुनः निर्माण सकियो

भूकम्पले क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको पुनः निर्माणको काम सकिएको छ । मन्दिरको पुनःनिर्माण सकिएसँगै शुक्रबार क्षमापुजा गरेका छन् ।
क्षमापुजामा सहभागि हुन मन्दिर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सास्कृतिक सम्पदा मध्ये उपत्यकाको सबैभन्दा आकर्षणको केन्द्रविन्दुको रुपमा पाटन रहेको बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु श्रेष्ठलाई मन्त्री अधिकारीले पाटनमा रहेको सम्पदाको विकासको लागि सङ्घीय सरकारको सहयोग सदैब रहने बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार क्षतिग्रस्त भएको कृष्ण मन्दिरको ५७ लाखको लागतमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) ले पुनः निर्माण गरेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिर महत्वपूर्ण मानिन्छ ।
ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रुपमा मानिन्छ । मन्दिरमा २१ गजुर छन् । सत्रौँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए । कृष्ण मन्दिर तीन तलाको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ ।