एनआरएनएले १० अर्ब तत्कालै बजारमा हाल्न लागेको भनेजसरी सन्देश प्रवाहित भएका कारण आईतबारको सेयर कारोबारमा सकारात्मक बृद्धि हुने अपेक्षा धेरैको थियो ।
नेपालको सेयर बजार स–सानो ह्विमका पछि कुद्ने गर्छ । कतिपय लगानीकर्ताले बेलाबखत आइरहने हल्लालाई ‘क्यास’ गर्दै बजारबाट कमाउने उपाय खोजिरहन्छन् र यो उनीहरुको कार्यकुशलता पनि हो ।
गत साता विहीबारको दैनिक सेयर कारोबारपछि सेयरबजारसम्बन्धित दुई ओटा समाचार बाहिर आए । पहिलो थियो, धितोपत्र दलाल व्यवसायीहरुले पूर्वप्रधानमन्त्री तथा वामगठबन्धनका नेता केपी शर्मा ओलीसँगको भेट, र दोस्रो थियो एनआरएनएका प्रतिनिधिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँगको भेट ।
पहिलो प्रसङ्गमा ओलीले वामगठबन्धका कारण सेयर बजार घट्नुपर्ने कुनै तर्क नभएको बताएर लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए । दोस्रो प्रसङ्गमा एनआरएनएका प्रतिनिधिले नेपाली पुँजीबजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका थिए । एनआरएनएले १० अर्ब तत्कालै बजारमा हाल्न लागेको भनेजसरी सन्देश प्रवाहित भएका कारण आईतबारको सेयर कारोबारमा सकारात्मक बृद्धि हुने अपेक्षा धेरैको थियो । लगानीकर्ताको यही सकारात्मकपन कारोबार सुरु भएको मध्य समयसम्म कायम रहेपनि अन्तसम्म भने टिक्न सकेन र बजार पुनः घटेर गयो ।
आज पनि नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४.४७ अङ्क (०.३ प्रतिशत)ले घटेर १४६७.६८ अङ्कमा रोकिएको छ । अर्थात् नेप्से घट्ने ट्रेन्डलाई पछ्याएको छ । गत साता ५ दिन सेयर खरिदबिक्री हुँदा सबै दिन नेप्से ओरालो लागेर विहीबार १४७२.१५ अङ्कमा रोकिएको थियो । यो साता पनि नेप्से घट्ने दिशामा अग्रसर भएको छ । कारोबारको मध्यतिर ८ अङ्कभन्दा बढीले बढेको नेप्से अन्तिम समयमा घटेर घट्ने ट्रेन्डलाई पछ्याएको हो ।
तर, आज कारोबार रकम भने केही बढेको छ । आईतबार ६ हजार ६४ कारोबारबाट १४ लाख ५७ हजार ४ सय २० कित्ता सेयर खरिदबिक्री भई ५५ करोड ९५ लाख ८२ हजार ८ सय ४० रुपैयाँबराबरको सेयर कारोबार भएको छ । गत विहीबार भने ५ हजार १ सय २ कारोबारबाट ९ लाख ९० हजार ९ सय ८ कित्ता सेयर किनबेच भई ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रुपैयाँबराबरको कारोबार भएको थियो ।
नेप्सेमा सूचीकृत ९ उपसूचकमध्ये आईतबार वित्त उपसूचक ०.३४ बिन्दुले बढ्ने बाहेक अरु कुनै उपसूचक जम्न सकेनन् । सबैभन्दा बढी बिमा उपसूचक २५.११ बिन्दुले घटेको छ भने सबैभन्दा कम बैङ्किङ २.१३ बिन्दुले घटेको छ ।
शतप्रतिशत बोनस सेयरको घोषणा गरेको स्ट्याण्डर्ड चाटर्ड बैङ्कको सबैभन्दा बढी ८ करोड ४५ लाख ३८ हजार ८ सय एक रुपैयाँबराबरको कारोबार भएको छ । करिब १० प्रतिशत नै सेयर मूल्य बढेका महुली सामुदायिक लघुवित्त संस्था र ग्रीन डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले आईतबार कमाएका छन् ।