माउन्टेन हाइड्रोले स्थानीयका लागि निष्कासन गरेको १२ लाख ५० हजार कित्ता साधरण सेयर (आईपीओ)को ५० प्रतिशत मात्र सेयर बिक्री भएको छ । कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको सेयर निष्कासन गरेकोमा ६ करोड ८३ लाख रुपैयाँबराबरको ६ लाख ८३ हजार कित्ता सेयर बिक्री भएको हो ।
कम्पनीले जारी गरेको सेयरमध्ये ५ लाख ६६ हजार १ सय १० कित्ता सेयरमा आवेदन नपरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । आईपीओ बिक्री नभएसँगै आयोजना प्रभावित सेयर दोस्रो चरणमा जारी हुने सर्वसाधारणको सेयरमा थपिएको छ ।
यसअनुसार सर्वसाधारणका लागि १८ लाख १६ हजार १ सय १० कित्ता निष्कासन हुनेछ । यसअघि सर्वसाधारणका लागि १२ लाख ५० हजार कित्ता छुट्याइएको थियो ।
एक अर्ब २५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीमा १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत सर्वसाधारण तथा ८० प्रतिशत संस्थापक सेयर स्वामित्व सेयर रहने बताइएको छ । सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्ने बताइएको छ ।