एघार दिनपछि मनाङ एयरको ‘सस्पेन्ड’ फुकुवा, मङ्गलबारबाट नियमित उडान गर्ने

क्यानका उपमहानिर्देशक राजन पोखरेलले ‘सस्पेन्ड’ फुकुवा भएको जानकारी दिए ।

मनाङ एयरको ‘सस्पेन्ड’ एघार दिनपछि फुकुवा भएको छ । साउन २९ गते हुम्लाको हिल्सामा हेलिकप्टरको पंखा लागेर भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भदौ १ गते ‘सस्पेन्ड’ गरेको थियो ।

क्यानका उपमहानिर्देशक राजन पोखरेलले ‘सस्पेन्ड’ फुकुवा भएको जानकारी दिए । उनले के कति कारणले दुर्घटना भएको र पर्यटकको ज्यान गएको विषयमा अध्ययन गरी पुनःउडान अनुमति दिइएको बताए ।

मनाङ एयरका कर्पोट चिफ राजु न्यौपानेले मङ्गलबारबाट नियमित उडान भर्ने बताए । सबै पाइलट काठमाडौंमा भएकोले सोमबार उडान भर्न नसकेको बताउँदै मङ्गलबारबाट नियमित उडान गर्ने जानकारी दिए । कर्पोट चिफ न्यौपानेले क्यानले सबै स्टान्डर्ड्स अडिटपछि सन्तोषजनक देखिएकोले उडान अनुमति दिइएको बताए ।