म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि लुम्बिनी जाँदै

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर बैठकमा सहभागी हुन मङ्गलबार नेपाल आइपुगेका राष्ट्रपति मिन्ट बुद्धएयरको विमानबाट भैरहवा जाने भएका हुन् ।

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि (बुधबार) लुम्बिनी जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर बैठकमा सहभागी हुन मङ्गलबार नेपाल आइपुगेका राष्ट्रपति मिन्ट बुद्धएयरको विमानबाट भैरहवा जाने भएका हुन् ।

बौद्ध धर्मावलम्बीहरुको मुख्य आकर्षणको केन्द्र रहेको भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भैरहवाबाट सेनाको हेलिकप्टरमा जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । राष्ट्रपति मिन्ट बुधबार बिहान साढे ९ बजे भैरहवा पुग्ने छन् ।

यस्तै श्रीलङ्काका राष्ट्रपति माथिपालाला सिरिसेना पनि लुम्बिनी जाने भएका छन् । उनी १५ वा १६ गते कहिले जाने भन्ने नटुङ्गिएको प्रवक्ता पौड्यालले बताए ।