राष्ट्रपति विनको स्वागतका लागि लुम्बिनी पुगेका पर्यटनमन्त्री अधिकारीले म्यानमार बौद्ध धर्मावलम्बीहरुको देश भएकाले त्यहाँका जनताहरुको गतिलो गन्तव्यका रुपमा नेपालको विकास गर्न सकिने भन्दै त्यसप्रति सहयोग गर्न आग्रह गरेका छन् ।
लुम्बिनी भ्रमणमा पुगेका म्यानमारका राष्ट्रपति विन मिन्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति विनको स्वागतका लागि लुम्बिनी पुगेका पर्यटनमन्त्री अधिकारीले म्यानमार बौद्ध धर्मावलम्बीहरुको देश भएकाले त्यहाँका जनताहरुको गतिलो गन्तव्यका रुपमा नेपालको विकास गर्न सकिने भन्दै त्यसप्रति सहयोग गर्न आग्रह गरेका छन् ।
मन्त्री अधिकारीले गएको वर्ष म्यानमारका २५ हजार नागरिकले नेपाल भ्रमण गरेको बताउँदै भ्रमण वर्ष २०२० मा अझ वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन मङ्गलबार काठमाडौं आएका विन बुधबार बिहानै लुम्बिनी पुगेका हुन् ।
बुद्ध एयरको विमानबाट भैरहवा विमानस्थल पुगेका विन त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी पुगेका छन् । हेलिकप्टरमा उनीसहित १६ जना छन् ।
राष्ट्रपति विनलाई प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पनि स्वागत गरेका थिए । राष्ट्रपतिले मायादेवी मन्दिरको अवलोकन तथा पूजाआजा गर्ने छन् । यस्तै श्रीलङ्काका राष्ट्रपति माथिपालाला सिरिसेना पनि लुम्बिनी जाने भएका छन् । उनी जाने मिति भने तोकिएको छैन ।