बिहीबार २ हजार ९ सय ५३ कारोबारबाट ६ लाख ९४ हजार ३ सय ७८ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ९ लाख ७३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर साताको उच्च बिन्दुमा पुगेको छ । तर, २८ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ ।
बिहीबार नेप्से ९ दशमलव ३९ अङ्कले बढ्दै ११ सय ८१ दशमलव ६९ अङ्कमा चढेको छ । गत बिहीबार ११ सय ७८ दशमलव ५ अङ्कमा रहेको नेप्से त्यसयताका ४ दिनमा दुई दिन बढ्ने तथा दुई दिन घट्ने भए पनि बढ्ने गति तीव्र भएका कारण सातामा उच्च बिन्दु कायम गरेको छ । यो साता सोमबार उपत्यकामा गाईजात्रा परेका कारण नेप्सेमा पनि सार्वजनिक बिदा हुँदा सेयर कारोबार हुन सकेन ।
बिहीबार नेप्सेमा वर्गीकृत समूह सूचकमध्ये अधिकांश समूह सूचक बढेपछि नेप्से उकालो लागेको हो । यस दिन होटल समूह सूचक मात्रै घटेको भने व्यापार समूह सूचकको कुनै कारोबार भएन । यस दिन बैङ्किङ ९ दशमलव ११, विकास बैङ्क ७ दशमलव ९१, जलविद्युत् ५ दशमलव ३१, वित्त १ दशमलव ३२, निर्जीवन बिमा ६२ दशमलव ४६, उत्पादनमूलक तथा प्रशोधन ८ दशमलव २६, अन्य ६ दशमलव २७, लघुवित्त १४ दशमलव शून्य ३ र जीवन बिमा समूह सूचक २६ दशमलव २१ अङ्कले बढेको छ ।
बिहीबारसबैभन्दा बढी नोडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलव ८७ प्रतिशतले बढेको छ भने समग्र बजार बढ्दा पनि सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ४२ प्रतिशतले घटेको छ । यस दिन २८ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार १ सय ६६ कम्पनीको सेयर कारोबार भएकोमा २१ कम्पनीको सेयर मूल्य स्थिर देखियो भने १ सय १७ कम्पनीको सेयर मूल्य भने बढेको छ ।
बिहीबार २ हजार ९ सय ५३ कारोबारबाट ६ लाख ९४ हजार ३ सय ७८ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ९ लाख ७३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको २ करोड ९ लाख ५४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।