नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको सेयर कमजोर

पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।

कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा छ । सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैङ्ककै सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ ।

स्टककाअनुसार सेञ्चुरी बैङ्कको प्रतिसेयर मूल्य एक सय ६९ छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैङ्कको सेयर मूल्य दुर्इ सय २७ थियो । यस्तै सिभिल बैङ्कको सेयर पनि घटेको छ । सो बैङ्कको प्रतिसेयर मूल्य एक सय ४८ छ । गत वर्ष भदौमा सो बैङ्कको सेयर दुर्इ सय ३० मा खरिद बिक्री भएको थियो । जनता बैङ्कको सेयर प्रतिकित्ता एक सय ५३ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्कअनुसार सो बैङ्कको सेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैङ्कको सेयर दुर्इ सय ५४ मूल्यमा खरिद बिक्री भएको थियो । यस्तै मेगा बैङ्क लिमिटेडको सेयर एक सय ६१ रूपैयाँमा खरिद बिक्री भएको छ । गत वर्ष ४ सय ४९ मा कारोवार भएको सो बैङ्कको सेयर निरन्तर ओरालो लागेको छ ।

माछापुच्छ्रे बैङ्कको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैङ्कको सेयर गत बिहिबार दुर्इ सय ४ मा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैङ्कको सेयर तीन सय २७ रूपैयाँमा कारोवार भएको थियो । सेयर बजारमा नेपाल बङ्गलादेश बैङ्क कमजोर देखिएको छ । सो बैङ्कको सेयर एक सय ९९ मा कारोवार भएको छ । गत वर्ष भदौमा सो बैङ्कको सेयर तीन सय ३२ मा खरिद बिक्री भएको थियो । एनसीसी बैङ्कको सेयर पनि ओरालो लागेको छ । सो बैङ्कको सेयर प्रतिकित्ता एक सय ८० रूपैयाँमा बिक्री भएको थियो । गत वर्ष भदौमा तीन सय ६४ रूपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै प्रभु बैङ्कको सेयर प्रतिकित्ता एक सय ८० मा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा तीन सय ७० रूपैयाँमा कारोबार भएको थियो । सिटिजन बैङ्कको प्रतिकित्ता सेयर दुर्इ सय ३५, ग्लोबल आर्इएमर्इ बैङ्कको दुर्इ सय ९६, लक्ष्मी बैङ्कको दुर्इ सय ३३, बैङ्क अफ काठमाडौँको दुर्इ सय ८९, नेपाल बैङ्क लिमिटेडको दुर्इ सय ८६, एनएमबी बैङ्कको तीन सय १६, प्राइम बैङ्कको दुर्इ सय ९५, सनराइज बैङ्कको दुर्इ सय २०, एनआर्इसी एसिया बैङ्कको तीन सय ४० तथा सानिमा बैङ्कको प्रतिकित्ता सेयर तीन सय २० रूपैयाँमा कारोबार भएको छ ।

तीन बैङ्कको शेयर मात्रै बढी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये तीन बैङ्कको सेयर मात्रै पाँच सय माथि छ । स्ट्याण्डर्ड चार्टड बैङ्कको प्रतिकित्ता सेयर सात सय १५ मा कारोबार भएको छ । गत वर्ष दुई हजार दुर्इ सय १ रूपैयाँमा कारोवार भएको सो बैङ्कको सेयर मूल्य घट्दै गएको छ । नबिल बैङ्क लिमिटेडको प्रतिकित्ता सेयर नाै सय ४७ मा कारोबार भइरहेको छ । गत वर्ष सो बैङ्कको सेयर एक हजार छ सय ६५ रूपैयाँमा खरिद बिक्री भएको थियो । एभरेष्ट बैङ्क लिमिटेको सेयर मूल्य छ सय ५८ छ । गत वर्ष एक हजार दुर्इ सय ६६ रूपैयाँमा कारोवार भएको थियो । नेपाल एसबीआई बैङ्कको सेयर चार सय ९३ रूपैयाँमा कारोवार भएको छ ।

नयाँ लगानीकर्तालाई अवसर

सेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैङ्क तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउँछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैङ्क तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आकर्षण रहने गर्दछ । ‘वियरिस ट्रेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर हो भन्छन् । रमेश लम्साल/रासस