रनवेको मध्यभागमा अवतरण गर्नुपर्ने जहाज छेउतिर अवतरण गराएर घाँसे मैदानमा पुगेको विषयमा शनिवारबाटै आन्तरिक छानबिन सुरु गरिएको क्यानका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । घटनाको विस्तृत छानबिन अघि बढिसकेको र केही दिनभित्रै प्रतिवेदन सार्वजनिक गर्ने उपमहानिर्देशक पोखरेलको भनाइ छ ।
पटकपटक दुर्घटनामा पर्दै आएको यती एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन थालेको छ । नेपालगञ्जबाट काठमाडौं आउने क्रममा शनिवार राति साढे ८ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको जहाजले सन् १९९६ जनवरी ४ मा उडान सुरु गरेको थियो । यही जहाज सात वर्षअघि पोखरा विमानस्थलमा दुर्घटनामा परेको थियो । जहाजको दायाँ इन्जिनबाट आगो निस्किएपछि सुरक्षित पार्किङमा राखेर यात्रुहरुलाई बचाइएको थियो । यस्तै यती एयरले खरिद गर्नुअघि नै सन् १९९६ को नोभेम्बर १६ मा दुईवटा चरा जहाजमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
जहाज दुर्घटना भएपछि क्यानले सामान्य छानबिन गरी उडान अनुमति दिने गरेको छ । यती एयरलाइन्स आङछिरिङ शेर्पाको रहेको र राजनीतिक पहुँचका कारण सामान्य छानबिन गरेर उडान अनुमति दिने गरेको मन्त्रालयकै एक उच्च अधिकारी बताउँछन् । यसअघि पनि यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजलाई पनि सामान्य छानबिनपछि पुनः उडान अनुमति दिइएको थियो ।