नेप्से र कारोबार रकम दुवै बढ्यो

आइतबारको कारोबार गत साता औसत कारोबारभन्दा बढी हो । गत साता औसतमा २० करोड ७ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको थियो । गत बिहीबार नौ अङ्कले नेप्से बढ्दा २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ५९ अङ्क अर्थात् शून्य दशमलव ७३ प्रतिशतले बढेर १ हजार १ सय ९० दशमलव २८ अङ्कमा पुगेको छ । गत साता नेप्से ३ दशमलव १९ अङ्कको वृद्धि भएको नेप्से आइतबार करिब ९ अङ्कले बढेको हो ।

आइतबार ४ हजार २ सय ४२ कारोबारबाट ९ लाख ६० हजार ७ सय १४ कित्ता सेयर खरिद बिक्री भई ३० करोड २५ लाख ९७ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको छ ।

सूचीकृत कम्पनीहरुले गत वर्षको नाफाबाट विस्तारै लाभांश घोषणा गर्ने क्रम सुरु भइरहेका बेला नेप्से भने उकालो चढ्ने तयारीमा लागेको छ । यद्यपि बजारमा ठूलो परिवर्तन आउने गरी बढ्ने सम्भावना भने कम छ । किनभने अर्थतन्त्रमा प्रभावै पार्नेगरी आर्थिक तथा राजनीतिक परिदृश्यमा कुनै फेरबदल भएको छैन । गत साता लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थमन्त्रालयका सचिवहरुसँग भेटघाट गरेपछि बजारमा चमक देखिन थालेको छ । यस अघिका भेटघाटपछि पनि बजार ओरालो लाग्ने गरेकोमा यस पटक भने सकारात्मक गन्तव्य खोज्न नेप्से तल्लीन छ ।

आइतबार उत्पादनमूलक तथा प्रशोधन, अन्य र जीवन बिमा उपसूचक घटेका छन् भने अन्य सबै समूह सूचकहरु बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । यस दिन बैङ्किङ ११ दशमलव १४, होटल ३२ दशमलव ११, विकास बैङ्क १३ दशमलव १२, जलविद्युत् पाँच दशमलव १३, वित्त शून्य दशमलव ९४, निर्जीवन बिमा २९ दशमलव ४३, लघुवित्त १० दशमलव १४ अङ्कले बढ्दा उत्पादनमूलक शून्य दशमलव ७५, अन्य एक दशमलव नौ र जीवन बिमा एक दशमलव शून्य आठ अङ्कले घटेको छ । आइतबार व्यापार समूहको भने कुनै कारोबार भएन ।