नेप्से २३ अङ्क बढे पनि १६ अङ्कमा कारोबार बन्द

आइतबार नेप्सेमा चार हजार दुई सय ४२ कारोबारबाट नौ लाख ६० हजार सात सय १४ कित्ता सेयर किनबेच भई ३० करोड २५ लाख ९७ हजार दुई सय रुपैयाँबराबरको कारोबार भएको थियो ।

सेयर बजार मापक नेपाल स्टक (नेप्से) सोमबार २३ अङ्कले बढे पनि अन्तिम समयमा १६ अङ्क कायम भई कारोबार बन्द भएको छ । सोमबार एक हजार एक सय ९० दशमलव २८ अङ्कबाट सुरु भएको बजार १५ दशमलव ९८ अङ्कले बढेर एक हजार दुई सय छ दशमलव २६ अङ्क कायम भएको छ । त्यसैगरी, एकाएक उत्साहजनक सुधार आएको नेप्सेमा सोमबार आधा अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

केही दिनयता उतारचढावमा रहेको बजारमा साताको पहिलो दिन आइतबार आठ अङ्कको सुधार आउँदै एक हजार एक सय ९० अङ्क कायम भएको थियो । बजार लगातार घटिरहेको समयमा लगानीकर्ताले सोमबार बैङ्कर्स सङ्घसँग ब्याजदर घटाउन माग गरेका छन् भने अर्थमन्त्री डा. युवराज खतिवडासँग एक हप्तामा दुई पटक भेट गरिसकेका छन् ।

कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से लगातार वृद्धि हुँदै २३ अङ्क माथि पुगेपछि ब्रेक लाग्दै केही स्थिर रहँदै बढेको अवस्थामा आठ अङ्क बढेको थियो । तर, नेप्सेले आफ्नो बढ्दो गतिलाई फेरि बढाउँदै १५ अङ्कले बढेको अवस्थामा बन्द भएको हो ।

आज नेप्सेमा एक सय ६९ कम्पनीका पाँच हजार नौ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार तीन सय ५ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ६० लाख २१ हजार सात सय १९ रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा २४ करोडले बढी हो ।

आइतबार नेप्सेमा चार हजार दुई सय ४२ कारोबारबाट नौ लाख ६० हजार सात सय १४ कित्ता सेयर किनबेच भई ३० करोड २५ लाख ९७ हजार दुई सय रुपैयाँबराबरको कारोबार भएको थियो ।

व्यापार समूहको कारोबार नभएको दिन आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये दुईमा सामान्य गिरावट आए पनि अन्य आठमा सम्मानजनक सुधार आउँदा नेप्से दोहोरो अङ्कले बढेको हो । आज नेप्सेमा होटल दुई दशमलव २६ र अन्य शून्य दशमलव ३ अङ्कले घटेका छन् ।

तर, निर्जीवन बिमा ९६ दशमलव ६६, उत्पादनमूलक ९३ दशमलव २, जीवन बिमा ७२ दशमलव ४८, बैङ्किङ १५ दशमलव ६९, विकास बैङ्क १२ दशमलव ७२, जलविद्युत् १९ दशममलव ९८ अङ्कले बढेका छन् भने वित्त र लघुवित्त पनि एकल अङ्कले सुधार आएको छ ।

नेप्सेमा उत्साहजनक सुधार आएको दिन आज लक्ष्मी बैङ्कको सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावरको सेयर मूल्य सात दशमलव ९ प्रतिशतले घटेको छ ।