सेयर बजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताले लगातार सरकारी प्रतिनिधिसँग भेटेर नेप्सेप्रति सरकारको दृष्टिकोण बुझ्न थालेपछि बजार उकालो लागेको हो ।
सेयर बजार घटिरहेको समयमा लगानीकर्ता एकाएक सक्रिय भएपछि नेप्से बढ्न थालेको छ । सेयर बजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताले लगातार सरकारी प्रतिनिधिसँग भेटेर नेप्सेप्रति सरकारको दृष्टिकोण बुझ्न थालेपछि बजार उकालो लागेको हो ।
यसै क्रममा सोमबार नेपाल पुँजी बजार सङ्घको टोलीले बैङ्कर्स एसोसिएसनका अधिकारीसँग भेटघाट गरेका थिए । सङ्घका अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गएको टोलीले बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई सेयर धितो कर्जाको ब्याजदर बढीमा १० प्रतिशत बनाउन मागपत्र बुझाएका थिए । साथै लगानीकर्ताले बैङ्कर्स सङ्घको धारणा स्पष्ट हुनुपर्ने माग राखेका थिए ।
त्यसअघि इन्भेस्टर्स फोरमले अर्थमन्त्रीसँग भेट गरेको थियो भने अर्थसचिव तथा राजस्व सचिवसँग पनि लगानीकर्ताले भेट गरिसकेका छन् । उनीहरुले सरकारी ओहोदामा बसेका मानिसलाई भेटेर सरकारको सेयर बजारसम्बन्धी धारणा बुझ्दै आएका छन् ।
लगानीकर्ताले सरकारी पदाधिकारीसँग भेट गर्दै सेयर बजारसम्बन्धी चासो राखेपछि बजारले उकालो गति लिएको छ । यस साता सेयर बजार लगातार बढ्दै आएको छ भने गत साता पनि सामान्य अङ्कको सुधार भएको थियो ।