माथिल्लो तामाकोसीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ ।

करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण सेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

स्थानीयले एक अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण सेयर हो ।

यस्तै आयोजनाले आम नेपालीलाई कुल पुँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

सो अनुपातमा सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गरिनेछ ।

आयोजनाले गत साउनको अन्तिम सातासम्म काठमाडौंमा बसोबास गर्दै आएका दोलखावासीलाई यही भदौको २१ गतेसम्म दोलखा जिल्लामा नै सेयर बिक्री गरेको थियो ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भौतिक निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण सेयर बिक्री गरिसकेको छ । तर हालसम्म बिक्री भएका साधारण सेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत भएका छैनन् ।

स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण सेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो ।

आयोजनाले स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरी सेयर बिक्री गरेको थियो । त्यसमा अति प्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र छन् ।

गौरीशङ्कर गाउँपालिकाको लामाबगर र गोंगर अति प्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको थियो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।