राष्ट्रिय बिमा कम्पनीको ५ वर्षको एकै पटक साधारणसभा, लगानीकर्ताको हात खाली

कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको ५ वर्षको लेखापरीक्षण सकाएर साधारणसभा गर्न लागेको हो । तर, ५ वर्षको नाफाबाट लगानीकर्तालाई एक रुपैयाँ पनि नदिने निर्णय गरेको छ ।

सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनीले ५ वर्षको वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको ५ वर्षको लेखापरीक्षण सकाएर साधारणसभा गर्न लागेको हो । तर, ५ वर्षको नाफाबाट लगानीकर्तालाई एक रुपैयाँ पनि नदिने निर्णय गरेको छ ।

आगामी असोज ६ गतेलाई साधारणसभा बोलाएको कम्पनीले लगानीकर्ताको हात खाली राखेको हो । यसअघि आर्थिक वर्ष २०५८/५९ देखि २०६२/६३ सम्मको साधारणसभा गर्दै ४२.४१ प्रतिशत बोनस सेयर एक सय पाँच प्रतिशत नगद लाभांश दिएको थियो ।

अहिले कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार नौ हजार आठ सय दुई रुपैयाँमा कारोबार भएको छ । कम्पनीले राम्रो लाभांश दिने योजनामा बसेका लगानीकर्ता कम्पनीको सूचनापछि भने निराश बनेका छन् । मङ्गलबार मात्रै प्रतिकित्ता सात सय ६८ रुपैयाँ (७ दशमलव २७ प्रतिशत)ले घटेर सेयर किनबेच भएको छ ।

कम्पनीको सञ्चालक समितिले बिमा समितिबाट वार्षिक प्रतिवेदनहरु स्वीकृत गरी आथिर्क वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७, २०६७/६८ को साधारण सभा गर्ने निर्णय गरेको हो । तर, कम्पनीले अझै आर्थिक २०६८/६९ देखि २०७४/७५ सम्मको सात वर्षको साधारणसभा गर्न बाँकी छ । पूर्व राष्ट्रिय बिमा संस्थानबाट निर्जीवन बिमा व्यवसाय गर्न कम्पनी छुट्टिएर २०७१ साउनबाट राष्ट्रिय बिमा कम्पनीका रुपमा निर्जीवन बिमा कारोबार सुरु गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ भने सञ्चित कोषमा दुई अर्ब सात करोड छ लाख ५४ हजार र बिमा कोषमा एक अर्ब ३५ करोड २३ लाख २३ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा/नोक्सानमा सारेको हिसाब २६ करोड ६५ लाख ३७ हजार रुपैयाँ छ ।