एक वर्षभित्र नेपाल एयरलाइन्स चीन जान्छ, पर्यटनमन्त्री अधिकारी

हालसम्म चीन सरकारले स्लट नदिएकै कारण नेपाली जहाजले उडान भर्न नपाएको बताउँदै उनले वर्षदिनभित्र चीनका विभिन्न प्रान्तमा उडान सुरु हुने जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्र नेपाली राष्ट्रिय ध्वजावाहक विमान चीन जाने बताएका छन् । हालसम्म चीन सरकारले स्लट नदिएकै कारण नेपाली जहाजले उडान भर्न नपाएको बताउँदै उनले वर्षदिनभित्र चीनका विभिन्न प्रान्तमा उडान सुरु हुने जानकारी दिए ।

सिचुआन अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी भई फर्किएका पर्यटनमन्त्री अधिकारीले लसानमा उडान भर्नका लागि त्यहाँका गभर्नरसँग आवश्यक छलफल भएको बताए । चीनको राजधानी बेइजिङमा १० महिनापछि नयाँ विमानस्थल बनिसक्ने र सो विमानस्थलमा नेपाललाई नयाँ स्लट उपलब्ध हुने भएकाले पनि जहाज उड्ने निश्चित भएको जानकारी दिए ।

‘प्रधानमन्त्री र पराष्ट्रमन्त्रीको चीन भ्रमणका अवसरमा पनि नेपाली जहाज उडाउने विषयमा धेरै छलफल भएको थियो,’ मन्त्री अधिकारीले भने, ‘आवश्यक कुटनीतिक पहल अघि बढाइरहेको छु ।’ सिचुआन प्रान्तका गभर्नरसँगको भेटमा लसानमा बनिरहेको नयाँ विमानस्थलबाट पहिलो उडान लुम्बिनीमा हुने आश्वासन पाएको बताए । जसले त्यस क्षेत्रका पर्यटकहरु लुम्बिनीमा भित्र्याउन ठूलो सहयोग पु¥याउने छ । चीन भ्रमणका क्रममा मन्त्री अधिकारीले चीनस्थित दादो जेन मन्दिर र लसान विशाल बुद्ध मन्दिरका प्रमुख, सिचुआन प्रान्तका गभर्नर, लसान नगरका मेयरलगायत उच्च सरकारी अधिकारीहरुसँग पर्यटन विकास तथा पारस्परिक सहयोगका बारेमा उच्चस्तरीय वार्ता भएको जनाए ।

लुम्बिनीको पवित्र बगैँचा र लसानको विशाल बुद्ध क्षेत्रबीच मित्रवत् तथा पारस्परिक सम्बन्धको औपचारिक सम्झौता भएको छ । सम्झौताअनुसार लसानमा लुम्बिनीको र लुम्बिनीमा लसानको फोटो राखिने छ । जसले लसानमा आउने पर्यटकले लुम्बिनीको विषयमा चासो राखेर नेपाल आउनेको सङ्ख्यामा वृद्धि हुने बताइएको छ । लसानमा वार्षिक ४० करोड पर्यटक आउने गरेका छन् ।