बिहारका मुख्यमन्त्रीले झण्डा देखाएपछि सुरु भयो बिहार नेपाल सीधा बस सेवा

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मङ्गलबार दुई छिमेकी मुलुकका महत्त्वपूर्ण स्थलबीच उच्चतम सम्पर्क सुविधाका लागि वातानुकूलित डिलक्स बस सेवाको शुभारम्भ गरे ।

नेपाल र भारतबीच सीधा बस सेवाको गन्तव्य थपिँदै गएको छ । मङ्गलबारदेखि भारतको बोधगयादेखि काठमाडौं र भारतको पटनादेखि जनकपुरसम्म सीधा बस सेवा सुरु भएको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मङ्गलबार दुई छिमेकी मुलुकका महत्त्वपूर्ण स्थलबीच उच्चतम सम्पर्क सुविधाका लागि वातानुकूलित डिलक्स बस सेवाको शुभारम्भ गरे ।

बस सेवालाई झण्डा देखाउने कार्यक्रममा नीतीशले भने, ‘यस पहलले बिहार र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउने छ ।’
‘संवाद’मा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री नीतीशले बस सेवालाई झण्डा देखाउनुभन्दा अघि आधुनिक सुविधासम्मपन्न बसको निरीक्षण समेत गरेका थिए ।

बस सञ्चालनको लक्ष्य बौद्ध पर्यटनलाई प्रोत्साहन गर्नु हो । बसमा ४४ ओटा आरामदायी सिट छन् ।

बिहार राज्य सडक परिवहन निगम (बीएसआरटीसी) का ती बस बोधगया – काठमाडौं तथा पटना – जनकपुरबीच चल्ने छन् । सो अवसरमा बिहारका मुख्यमन्त्रीलाई पशुपतिनाथ मन्दिरको चिनो दिइएको थियो । साथै बिहार तथा नेपालका कलाकारहरुले लोक कला प्रस्तुत गरेका थिए ।

बस सेवाका प्रमुख पाँच विशेषता
१. बिहार – नेपाल जोड्ने चार ओटा बसले पटना, रक्सौल तथा वीरगञ्ज हुँदै बोधगया – काठमाडौं जोड्ने छन् ।
२. पटनाबाट जनकपुरसम्म यस्तै चार ओटा बस मुजफ्फरपुर र सीतामढी हुँदै चल्ने छन् । यसको भाडा ४०० भारु तोकिएको छ ।
३. काठमाडौंदेखि बोधगयासम्मको बस सेवा भोलि २८ गते बिहीबार (१३ सेप्टेम्बर) नेपाल सरकारद्वारा शुभारम्भ गरिने छ ।
४. बस बिहान १० बजे बोधगयाबाट छुट्ने छ, र यसको भाडा १२५० भारु हुनेछ ।
५. पटना–काठमाडौं बस भाडा १०१५ भारु लाग्ने छ ।