हान पनि अब सङ्घीयतामा

केही दिनअघि गण्डकी प्रदेशको राजधानी पोखरामा त्यहाँका मुख्यमन्त्री र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव हानले राखेको छ ।

देश सङ्घीयतामा गइसकेको छ । यसै सन्दर्भमा होटल एसोसिएसन अफ नेपाल (हान) पनि सङ्घीयतामा जाने भएको छ । आउँदो साधारणसभाबाट सातै प्रदेशमा हानका शाखाहरु विस्तार गरेर सङ्घीय संरचनामा जाने हानका महासचिव विनायक शाहले जानकारी दिए ।

‘हानलाई सङ्घीयतामा लैजान आवश्यक विधान तयारी भइसकेको छ,’ उनले भने, ‘साधारणसभाले पास गरेपछि हामी सङ्घीयतामा जान्छौं ।’ हानको साधारणसभा २०१८ को अन्तिममा हुने भएको छ । हाल हानमा १५ च्याप्टर आबद्ध छन् ।

हानले सबै प्रदेशमा पर्यटकीय सम्भाव्यता अध्ययन गर्न पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । उनीहरुले त्यस क्षेत्रको पर्यटकीय सम्भावनाको अध्ययन गरी खाका बनाउने र आवश्यक पर्यटकीय नीति तथा कानुन बनाउनसमेत सहयोग गर्नेछन् । त्यसका लागि पूर्वअध्यक्षहरुलाई एक÷एक वटा प्रदेशको जिम्मेवारी दिएका छन् ।

हानले प्रदेश १ मा प्रकाश श्रेष्ठ, ३ मा श्याम कक्षपति, गण्डकी प्रदेशमा प्रसिद्ध पाण्डे, ५ मा योगेन्द्र शाक्य र ६ मा नरेन्द्र वज्राचार्यले जिम्मेवारी पाएका छन् । यसैगरी प्रदेश २ मा श्यामबहादुर पाण्डे र र ७ मा गौतमदास श्रेष्ठलाई जिम्मेवारी दिएको छ । तीमध्ये पाण्डे र श्रेष्ठ बृद्ध भएका कारण उनीहरुबाट आवश्यक सल्लाह लिएर काम गरिने महासचिव शाहको भनाइ छ ।

सबै प्रदेशले बजेट सार्वजनिक गर्दा पर्यटनलाई विशेष प्राथमिकतामा राखेका कारण हानले आवश्यक सहयोग गरेको हो । सबै प्रदेशको आआफ्नै विषेशता रहेका कारण लगानीकर्ताहरुलाई उत्साहित गर्न आवश्यक नीति तथा नियम बनाउन लागिएको हानको भनाइ छ । पर्यटन क्षेत्रमा स्पष्ट नीतिनियम नभएकै कारण धेरै लगानीकर्ताले होटल क्षेत्रमा लगानी गर्न समस्या भएको बताउँदै पर्यटनमैत्री नीति बनाउन आवश्यक रहेकोमा महासचिव शाहको जोड छ ।

केही दिनअघि गण्डकी प्रदेशको राजधानी पोखरामा त्यहाँका मुख्यमन्त्री र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव हानले राखेको छ । आवश्यक पूर्वधार निर्माण गर्न सके पोखरामा एकै पटक पाँच लाख पर्यटक राखेर हिमालको दृश्यावलोकन गराउन सकिने भएकाले पोखरालाई राजधानी बनाउन प्रस्ताव राखिएको महासचिव शाहको भनाइ छ । हानको प्रस्तावमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सकारात्मक छन् ।