संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एउटा पनि रुख नरोप्ने र मुखमात्र बजाउनेहरुको सङ्ख्या धेरै भएकाले त्यसको पछि नलागी काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वातावरण विनाश नहुनेगरी निर्माण गर्ने बताएका छन् । ‘विमानस्थल बनाउँदा पहिला रुख रोप्ने ठाउँको पहिचान गरेर मात्र काट्छौ,’ मन्त्री अधिकारीले भने , ‘रुख रोप्ने काम आयोजनाले गर्दैन, जिल्ला वन कार्यालयलाई जिम्मेवारी दिन्छौं ।’
निजगढ विमानस्थल देशको मुहार फेर्ने ड्रिम प्रोजेक्ट भएको भन्दै एउटा पनि रुख नरोप्ने र मुखमात्र बजाउनेहरुको सङ्ख्या धेरै भएकोले त्यसको पछि नलागी काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन समेत दिएका छन् । उनले कुनै पनि हालतमा विमानस्थलको काम नरोकिने र अन्य ठाउँमा पनि नसार्ने स्पष्ट पारेका छन् । वन ऐनअनुसार एउटा रुख काट्दा २५ अाेटा रुख रोप्नु पर्ने व्यवस्था छ । बाराको निजगढमा निर्माण हुने सो विमानस्थल भारतको बोर्डरबाट करिब २२ किलोमिटर टाढा पर्छ ।
निजगढ विमानस्थलको कार्यप्रगति र योजनाको विषयमा क्यानमा भएको छलफलमा बोल्दै मन्त्री अधिकारीले एसियाको ट्रान्जिट प्वाइन्टको हबको रुपमा विकास हुने बताए । मन्त्री अधिकारीले भने– ‘अहिले बन्न लागेको विमानस्थल विश्वका ठूलामध्येको एक आयोजना हो, यो नेपाल सरकारले मात्र बनाउन नसक्ने भएकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट बनाउन लागेका हौं ।’
क्यानका महानिर्देशक सञ्जीव गौतमले यो विमानस्थल बनेपछि पर्यटन तथा व्यापारमा विकास र विस्तार गर्न सकिने, लामो दूरीसम्म चल्ने ठूला जहाजबाट विश्वको जुनसुकै कुनासम्म सीधा सम्पर्क हुने गरी हवाई सेवाविस्तार गर्न सकिने, देशको समग्र आर्थिक वृद्धिसँगै बढ्न जाने आयात तथा निर्यातका लागि आवश्यक पर्ने कार्गो परिवहनका लागि समेत सुिवधा प्रदान गर्न सकिने, हाल सङ्घीय शासन प्रणाली तथा विकेन्द्रीकरणको दृष्टिकोणले समेत उपयुक्त भएको र सिंगो देशकोे आर्थिक विकासको आधार समेत बन्ने बताए । विमानस्थल क्षेत्रको रुख काट्न क्यान आफैले बन्चरो बोकेर नजाने बताउँदै त्यसका लागि सम्बन्धित निकायहरु नेपाली सेना, जिल्ला वन कार्यालयहरुसँग समन्वय गरी जिम्मेवारी दिने गौतमको भनाइ छ ।
गौतमले विमानस्थल निर्माणका लागि ८ हजार ४५ हेक्टर जमिन आवश्यक पर्ने र २४ लाख ५० हजार ८०० रुखहरु काटिने जानकारी दिए । तर पहिलाे चरणमा २ हजार ५०० हेक्टर जमिन र ७ लाख ६९ हजार ६६३ अाेटा मात्र रुख कटान गर्ने तयारी गरेको छ । विमानस्थल निर्माण क्षेत्रको १ हजार ४ ९४ घरधुरी विस्थापित हुने छन् ।