सोमबार क्रिसमसको बिदाका कारण सेयर कारोबार नभए पनि क्रिसमसपछिको बजार भने फेरि राताम्मे भएको छ ।
नेपालको धितोपत्र कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा मङ्गलबार ठूलो गिरावट आएको छ । नेप्सेमा देखिएको यो गिरावटसँगै नेप्से परिसूचक एक वर्षअघिको स्थानमा पुगेकोे छ । मङ्गलबार नेप्से २०.६४ अङ्क (१.४१ प्रतिशत)ले घट्दै १४४७.०५ अङ्कमा पुगेर रोकिएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि निरन्तर घटेको देखिन्छ । यसअघि नेप्से २०७३ पुस २४ मा १४४७.४५ अङ्कमा अडिएको थियो ।
गत साताभर झरेको बजार आइतबार पनि दोहोरो अङ्कले घटेर १४६७.६८ अङ्कमा रोकिएको थियो । सोमबार क्रिसमसको बिदाका कारण सेयर कारोबार नभए पनि क्रिसमसपछिको बजार भने फेरि राताम्मे भएको छ । मङ्गलबारको सेयर कारोबार सूचकाङ्कमा ठूलो रफ्तारले आएकोे यो गिरावट ५० दिनयताकै सबैभन्दा ठूलो हो । यसअघि कात्तिक १९ गते आइतबार सेयर बजारमा २६.३५ अङ्कको गिरावट आएर १४९६.४६ अङ्कमा रोकिएको थियो ।
२०७३ साउन १२ मा नेप्से १८८१.४५ बिन्दुमा पुगेपछि घट्न थालेको सूचकाङ्क घट्ने क्रम अझ रोकिएको छैन ।
मुलुकमा सङ्घीयता कार्यान्वयन गर्ने क्रममा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर मुलुक स्थायित्वतर्फ उन्मुख भइरहँदा बजारले उल्टो बाटो समातेको छ । खासगरी निर्वाचन सम्पन्न भएर स्थायी सरकार बन्ने र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने अपेक्षाका बीच सरकार निर्माणमा भइरहेको ढिलाइले बजारमा लगानीकर्ता मनोबल स्थिर हुन नसकेको देखिन्छ । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको ४ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समग्र आर्थिक अवस्थामा सुधारको सङ्केत देखिएको बताए पनि बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानीमा कडाइ गर्न निर्देशनात्मक सङ्केत दिएको असर पनि नेप्सेमा परेको छ । केन्द्रीय बैङ्कको निर्देशनले बजारमा ब्याजदर अझै बढ्ने आशङ्का सिर्जना गरेको छ ।
मङ्गलबार सेयर परिसूचकमा ठूलो गिरावट आए पनि कारोबार रकम भने खासै घटेको देखिँदैन । आज ६ हजार २ सय ५ कारोबारबाट १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भई ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मङ्गलबार स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा बढी ८ करोड ३३ लाख ७५ हजार ८ सय ५१ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
आजको कारोबारमा अन्य समूह परिसूचकबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा बढी बिमा उपसूचक १३८.८१ अङ्कले घटेको छ । त्यसैगरी विकास बैङ्क उपसूचक ३६.९१, जलविद्युत् ३६.६२, लघुवित्त ३२.६७, उत्पादनमूलक ३०.५९, होटल २३.४४, बैङ्किङ १८.२१, वित्त १६.१६ र व्यापार ४.७३ अङ्कले घटेका छन् । मङ्गलबार अन्य समूह परिसूचक भने ६.९४ अङ्कले बढेको छ ।
मङ्गलबार हिमालयन बैङ्क, जनता बैङ्क, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार यी कम्पनीहरूको प्रस्तावित बोनस सेयरलाई दोस्रो बजारको सेयर मूल्यमा समायोजन गरिएको हो । यसअघि गत आर्थिक वर्षको नाफाबाट हिमालयनले २५ प्रतिशत, जनताले १४.४ प्रतिशत, साइन रेसुंगाले २५ प्रतिशत र किसान माइक्रोफाइनान्सले २०.१२५ प्रतिशत बोनस सेयर घोषणा गरेका थिए ।