सौर्य एयरलाइन्समा चरा ठोक्कियो, उडान प्रभावित

एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले ९एनएएमई कल साइनको विमानमा चरा ठोक्किएको पुष्टि गरेका छन् ।

काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्समा चरा ठोक्किएको छ । एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले ९एनएएमई कल साइनको विमानमा चरा ठोक्किएको पुष्टि गरेका छन् ।

बिहान ७ः४५ बजे काठमाडौंबाट उडेको जहाज विराटनगर पुग्ने बेला पाइलटले इन्जिनमा चरा ठोक्किएको जानकारी टावरमा दिएका थिए । पाइलटले जानकारी दिने बित्तिकै प्राविधिक टोली विराटनगर पुगेर चेकजाच गरेको थियो । प्राविधिकहरुको भनाइ उध्दृत गर्दै खनालले विमानको बायाँ इन्जिनमा चरा ठोक्किएकाले सामान्य मात्र क्षति भएको बताएका छन् ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्राविधिकहरुले चेकजाँच नगरी उडान गर्न नमिल्ने भएकाले उडान प्रभावित भएको बताए । क्यानका प्राविधिकहरु मङ्गलबार विमान निरीक्षणका लागि विराटनगर जानेछन् । उनीहरुको प्रतिवेदनपछि मात्र जहाज उडाउने मार्केटिङ म्यानेजर खनालको भनाइ छ । विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।

सौर्य एयरलाईन्सले भदौ ६ गतेबाट नयाँ व्यवस्थापनसहित उडान सुरु गरेको थियो । सौर्यले विराटनगर, भैरहवा, भक्तपुर, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ ।